गण्डकी प्रदेशः सरकारको नीति तथा कार्यक्रम पारित, बजेट आजै ल्याइदै





पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार पारित भएको छ ।

प्रदेश सभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी पारित गरिएको हो ।




छलफलमा सबै दलका सांसदले भाग लिएका थिए । प्रतिपक्षका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । सत्ता पक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर जाने बताए ।

सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोगको अपेक्षा गरे । उनले खासगरी प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विशेष धन्यवाद दिए । उनले भने, ‘उहाँको सहयोगबिना यो नीति तथा कार्यक्रम आउन सम्भव थिएन, बजेट निर्माणमा पनि उल्लेख्य सहयोग छ ।

सरकारले आजै बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफै बजेट प्रस्तुत गर्ने छन् । पोहोर करिब ३४ अर्बको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष त्यो भन्दा केही घटेर बजेट ल्याउँदैछ ।




सम्बन्धित
Loading...