बौदीकालीमा पहिलो पटक सडक कालो पत्रे गरिदै, आगामी आर्थिक बर्षका लागि ३५ करोडको योजना बन्दै




रामकुमार श्रेष्ठ –

नवलपुर, ३ असार । पूर्वी नवलपरासीको बौदीकालीमा आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ३५ करोडको बजेट प्रस्तुत हुने भएको छ ।




पालिकाले मुख्य गरेर प्रत्येक वडामा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुर्याउने र पहिलो पटक पालिका भित्र पक्की सडक (कालो पत्रे) गर्ने योजना अगाडि सारेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीका अनुसार पालिकाले आगामी गाउँसभाबाट नवलपुरबाट गण्डकी प्रदेश जोड्ने बाटोसँग पालिकाको प्रशासनिक भवनलाई जोड्ने गरी २ दशमलब ५ किलोमिटर सडक पक्की गर्ने योजना अगाडि सारेको छ ।

त्यसैगरी बौदीकालीका ३ वटा वडामा राष्ट्रिय प्रशारण लाइनको विद्युत जोडिसकेकोमा अब बाँकी सबै वडामा राष्ट्रिय प्रशारण लाइन पुर्याउने योजना रहेको छ ।

त्यसैगरी ५२ किलोमिटर नगर चक्रपथ निर्माणका लागि चक्रपथलाई स्तर उन्तति गर्दै ग्राभेल गर्ने योजना अगाडि सारिएको उनले बताए । नवलपुरका बौदीकाली गाउँपालिकाको नगर चक्रपथ बौदीकालीको मुख्य मुख्य गाउँ र वडालाई सडक सञ्जालसँग जोड्ने छ ।

त्यसैगरी दीगो पूर्वाधार विकास र कोभिडका साथै यस्तै अन्य महामारी रोकथामका लागि छुट्टै बजेट विनियोजन गरेर जाने गरी तयारी भएको उनले बताए ।

बौदीकाली गाउँपालिकाको गाउँ सभा असार १० भित्र गरी सक्ने लक्ष्य बौदीकाली गाउँपालिकाले लिएको छ ।



सम्बन्धित
Loading...