तीन दिनदेखि खुल्न सकेन सिद्धार्थ राजमार्ग


 




बुटवल । पहिरोले बन्द भएको तीन दिन भइसक्दा पनि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा सडक खुल्न सकेको छैन । सडक सूचारु नहुँदा सवारी साधनहरु चल्न पाएका छैनन् ।




अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।

सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको छ । सडकमा वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।

साना ठूला सवारी साधन तराई र तराईबाट पहाड आउन सकेका छैनन् । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार सडक खुलाउने प्रयास भइरहे पनि पानी नरोकिएकाले पहिरो पन्छाउन गाह्रो भइरहेको छ । आज विहीबार पनि पहिरो हटाउने प्रयास भइरहेको उनले बताए ।

पहिरो खस्नेक्रम नरोकिएकाले सडक कतिबेलादेखि सूचारु हुन्छ भनेर भन्न नसकिने उनको भनाई छ ।




सम्बन्धित
Loading...