घट्दैछ नारायणी : बाढीको उच्च जोखिम कायमै

344








चितवन ०३ असार । चितवन जिल्ला अझै पनि बाढीको उच्च जोखिमबाट हटेको छैन। सोमबार रातिबाट परेको निरन्तरको वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि नदी आसपासका केही क्षेत्र डुबानमा परेका छन्। जल तथा मौसम विज्ञान विभागले हाल सक्रिय भएको मनसुन बिहीबारसम्म जारी रहने बताएको थियो। तर, चितवन जिल्ला भने अझै पनि बाढीको उच्च जोखिमबाट तल झरेको छैन।

बिहीबार पनि नेपालका ठूला तथा स–साना सहायक नदीहरुमा बाढी आउन सक्ने सम्भवना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले चितवनवासीलाई सतर्क रहन आग्रह गरेको छ। विशेष गरी नारायणी नदीमा गोरखा, लमजुङ, मनाङ, कास्की, धादिङ, नुवाकोटलगायतका क्षेत्र भएर बग्ने नदी तथा खोलानाला मिसिने गर्दछ। ती क्षेत्रमा पानी परेर बाढी आए त्यसको असर सीधै नारायणी नदीमा पर्ने हुँदा चितवनवासीले सतर्कता अपनाउनुपर्ने देखिन्छ।




सोमबार रातिदेखि नै सतर्कताको तह पार परेको नारायणी नदीमा बुधबार पानीको बहाब घटेको छ। विभागको वेभसाइटमा दिइएको तथ्यांकले नारायणी नदीमा पानीको बहाब सतर्कता तहको विन्दुभन्दा तल झरिसकेको छ। तर, बिहीबार पुनः सतर्कताको तहसम्म पुग्न सक्ने अनुमान गरिएको छ। कतिपय स्थानमा आकस्मिक बहाबसमेत बढ्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन विभागले सूचित गरेको हो।

नारायणी नदीमा शुक्रबार पनि आकस्मिक बहाब बढ्न गई सर्तकता तहको आसपास पुग्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ। शनिबार भने पानीको बहाब सामान्य घटबढ हुन सक्ने विभागले जनाएको छ। यस्तै पूर्वी र पश्चिमी क्षेत्र भएर बग्ने नदीहरुमा पनि पानीको बहाब बढ्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



You might also like
Loading...