१५ हजारले भारतबाट आएको कोभिसिल्ड खोपको दोस्रो डोज पाएनन्


रामकुमार श्रेष्ठ –




नवलपुर, ३ असार । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएका मध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोजको खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार ६५ बर्ष माथिका जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतले गरी १६ हजार ५ सयको हाराहारीमा कोभिशिल्ड खोप लगाएकोमा १५ हजारको हाराहारीमा दोस्रो डोजको खोप लगाउन पाएका छैनन् ।


भारतमा कोरोनाको दोस्रो लहर एक्कासी शुरु भए पनि भारतले अन्य मुलुकमा खोप पठाउन रोकेका कारण उनीहरुले खोप लगाउन नपाएका हुन् । १६ हजार ५ सय मध्ये करिब १ हजार ५ सय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारहरुले दोस्रो डोजको खोप लगाएका भए पनि बाँकी छुटेका हुन् ।

दोस्रो डोजको खोप लगाउन बाँकी १५ हजार मध्ये अधिकांश ६५ बर्ष माथिका जेष्ठ नागरिक रहेका छन् ।

भारतबाट आएको कोभिसिल्ड नामक खोप नवलपुरमा ३ हजार १ सय बढी पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीहरुले पहिलो डोज खोप लगाएका थिए भने १३ हजार ३ सय ४५ जना ६५ बर्ष माथिका जेष्ठ नागरिकले पाहिलो डोजको खोप लगाएका थिए ।

भारतबाट खोप नआए पनि सोही फर्मुलाबाट बनेको जुन सुकै देशबाट आएको खोप १५ हजारलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाएदिने स्वास्थ्य कार्यालय कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

दोस्रो डोजको खोप ४ महिना भित्र लगाइ सक्नु पर्ने भए पनि ३ महिना वितिसक्दा पनि दोस्रो डोजको खोप लगाउन नपाएपछि उनीहरु चिन्तित बनेका छन् ।




सम्बन्धित
Loading...