रोकिएन मटर तस्करी

286








हरि शर्मा/ परासी,

‘आज ३ गाडी जान्छ हैं सर । पिकअप भेनमा आउँछ ।’ मटर(केराउ) तस्करले आफ्ना कुरा सिध्याउँन नपाउँदै सीमावर्ती प्रहरी चौकीका एक इन्चार्जले जवाफमा भने,‘ आज होईन । अझ २÷३ दिन कुर्नुहोला । जिल्लाका एसपी साहेबले झन कडा गर्न थाल्नु भएको छ । ’
मटर तस्करले भने चौकी इन्चार्जलाई बारम्बार अनुरोध गर्दै आजलाई मात्र जान दिन अनुरोध गर्दै थिए । तर प्रहरी चौकीका इन्चार्जले इन्कार गर्दै जिल्लाबाट थप निगरानी बढाएको र मटर गएको थाहा पाए आफ्नो जागिरै जाने भन्दै केही दिन कुर्न भनिरहेका थिए ।




निषेधाज्ञा जारी भएको केही समय तस्करीमा कमी आएपनि पश्चिम नवलपरासीमा फेरि उक्त कार्य बढ्न थालेको छ । सीमावर्ती क्षेत्रका भूजहवा, बसैया,जगन्नाथपुर, बिस्नुपुरालगायतका नाकाबाट दिनहुँजसो मटर भारततर्फ तस्करी हुँदै आएको छ । सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले बताएका छन् । ‘बसैया ठाउँ त मटरको अखडै रहेछ । भारतबाट टेक्टर ल्याएरसमेत पिकअप भेनबाट अनलोड गरेर लैजाने गरेका छन् ।’ एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने । ति नाकाहरुबाट दैनिक ४० देखि ५० पिकअप भेन मटर भारत जाने गरेको उनले बताए । नाकाहरुमा पिकअप भेन लैजाने र त्यहाँबाट भारतीय टेक्टर, साइकल र मोटरसाइकलबाट मटर भारततर्फ लैजाने गरेका छन् ।

जिल्लाबाट तस्करीमा कडाई गरेपनि सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीका इन्चार्जको मिलमतोमा मटर तस्करी हुने गरेको पाइएको हो । तेस्रो मुलकबाट आउने हरियो मटर नेपालमा भन्दा भारतमा महङ्गो पर्ने भएकाले तस्करी कार्य बढेको हो । गतवर्ष मटरको तस्करी बढेपछि जिल्लास्थित सुरक्षा समितिको बैठकले कोरोनाको कारण देखाउँदै ओसारपसार गर्ने सवारीसाधनमा रोक लगाएको थियो । त्यसवर्ष मटर ओसारपसारमा प्रतिबन्ध लगाएपछि तस्करहरुको दबाबमा उद्योग वाणिज्य संघकै प्रतिनिधिहरु जिल्ला प्रशासन पुगेर कारोबारलाई सुचारु गर्न आग्रह गरेका थिए । तर प्रशासनले मानेको थिएन ।

प्रहरीले धमाधम मटर बोकेका गाडी पक्राउ गरेर कारबाही गर्न थालेपछि त्यसबेला एसपी अजय केसीको सरुवा गराउने भन्दै केही कारोबारीहरु लागि परेका थिए । त्यो पनि संभव नदेखेपछि मटरको कारोबार गतवर्ष शुन्य जस्तै भएको थियो । सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका चेकिङ्ग पोष्टहरु छन् । मटरको तस्करी गर्ने कारोबारीले सीमा नाकाको दसगजा नजिकको ठेगाना राखेर पसल दर्ता गर्ने र सोही पसलको गोदाममा लगेर राख्ने गर्दछन् । त्यहीबाट उनीहरुले भारततर्फ पठाउने गरेका छन् ।

सीमा क्षेत्रका नेपाली पसलका गोदाममा राखिएका मटरलाई अबैध भनेर प्रहरी र राजश्व कार्यालयले बरामद गर्न नसक्ने कानुनी झण्झटको फाईदा उठाउँदै तस्करहरुले भारतर्फ तस्करी गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताए । मातहतका प्रहरी चौकीलाई मटर तस्करीलाई नियन्त्रण गर्न कडा निर्देशन दिइएको उनले बताए । ‘ मटर बोकेर हिडेका सवारीसाधनलाई चेक गर्दा भन्सारसहित सबै कागज देखाउँछन् । यो सामान तस्करी गर्नकै लागि हो भन्ने थाहा छ । तर के गर्नु कागजपत्र भएपछि समस्या हुँदो रहेछ ।

तैपनि निगरानी बढाएर तस्करीमा कमि ल्याउने प्रयास गरिरहेका छौं । ’ प्रहरी उपरीक्षक केसीले भने । चौकीमा जनशक्ति कमी हुने र प्रविधिका कारण पनि तस्करले प्रहरी आएको जानकारी पाएपछि अन्य बाटो प्रयोग गर्ने भएकाले समस्या भएको उनको भनाई छ ।
उनले सीमा नाकामै गोदाम राख्न पाउने प्रावधानले तस्करी रोक्न समस्या भएको बताए । ‘ भारतमा तस्करी हुने सामाग्रीलाई कम्तीमा सीमाबाट १० कि.मि.को दुरीमा गोदाम राख्न पाउने गरी कानुन बने सहज हुने थियो ।’केसीले भने ।



You might also like
Loading...