नवलपुरमा १२ प्रतिशत मात्र धान रोपाई
कृशला सापकोटा –
नवलपुर । नवलपुरमा बुधबारसम्म १२ प्रतिशत मात्र धान रोपाई भएको छ ।
असार लागेदेखि पानी परेको भए पनि किसानहरुले राखेको धानको विउ तयार नभएको कारण बेलैमा रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।
उनका अनुसार नवलपुरमा असार ९ गतेसम्म १० देखि १२ प्रतिशत मात्र धान रोपाई भएको छ ।
नवलपुरमा २० हजार ७ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । ति मध्ये ५६ प्रतिशत क्षेत्रफलमा मात्र सिचाईको बेवस्था रहेको छ भने बाँकी ४४ प्रतिशत क्षेत्रफलमा आकाशे पानी र सिजनको पानीको भर पर्नु पर्ने बाध्यता रहेको छ ।
मल अभाव
किसानहरुले धान रोपाई शुरु गरिसकेको भए पनि नवलपुरमा मल अभाव भने कायमै रहेको छ ।
हरेक बर्ष नवलपुरमा किसानहरुले धान रोप्ने बेला मल अभाव खेप्नु परेको छ । यस बर्ष पनि प्रयाप्त मल नआएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।

