सीमाबाट छिरेका भारतीय श्रमिकलाई फिर्ता पठाइयो




हरि शर्मा –
परासी । पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती नाकाबाट छिरेका खेत रोप्ने भारतीय श्रमिकलाई बिहीबार फिर्ता पठाइएको छ ।

सीमावर्ती नाकामा आउजाउमा रोक लगाइएपनि करिब २ हजार बढीको संख्यामा भारतीय श्रमिकहरु जिल्ला छिरेका थिए ।




ठूलो संख्यामा श्रमिकहरु छिरेसँगै नाकाको कडाई फितलो देखिएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित शसस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको टोली आफैं पुगेर उनीहरुको खोजी गरेको थियो ।

जिल्लाका विभिन्न ठाउँमा समुह बनाएर हिडिरहेका भारतीय श्रमिकहरुलाई नियन्त्रणमा लिएर उनीहरु जताबाट आएको हो त्यतै फकाईएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनीहरुलाई फिर्ता पठाउन प्रहरीले गाडी र टेक्टरको व्यवस्था गरेर महेशपुरको नाकासम्म पु¥याएको थियो । त्यहीबाट उनीहरु भारततर्फ गएका हुन् ।

अझ पनि श्रमिकहरुको निगरानी गरी खोजी भइरहेको मिश्रले बताए । प्रमु प्रमुख नाका बन्द रहेकाले सुरक्षाकर्मीको आँखा छलेर उनीहरु खेत र अन्य बाटो प्रयोग गरेर जिल्ला छिरेको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाई छ ।

हरेक वर्ष खेत रोप्ने समयमा कामको खोजी गर्दै भारतको उत्तर प्रदेश र बिहारबाट श्रमिकहरु जिल्लामा आउने गरेका छन् । भारतमा भन्दा नेपालमा ज्याला बढी पाइने भएकाले रोपाइको समयमा उनीहरु नेपाल आउने गर्दछन् ।

 



सम्बन्धित
Loading...