नवलपुरमा आजदेखि पसल तथा सरकारी कार्यालय खुल्ला; हाटबजार, विद्यालय जस्ता भिडभाड हुने क्षेत्र खोल्न नपाइने
नवलपुर । पूर्वी नवलपरासीमा शुक्रबारदेखि निषेधाज्ञा खुकुलो गरिएको छ ।
गएराति १२ बजेबाट सकिने निषेधाज्ञा भने असार १८ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा जारी सूचनामा निषेधाज्ञा असार १८ गते राति १२ बजेसम्मका लागि पुर्याइएको जनाइएको छ ।
नवलपुरमा कोरोना संक्रमितको संख्या विस्तारै घट्दै गएपछि आर्थिक गतिविधि हुने क्षेत्र खुल्ला गरिएको हो । तथापि सामाजिक दुरी कायम गरेर मात्र पसल खोल्न भनिएको छ ।
खोलिएका पसलहरु अत्यावश्यक सेवा बाहेकका अन्य पसलहरु साँझ ६ बजेपछि अनिवार्य बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।
गर्न नपाइने कार्यहरु
निषेधाज्ञा खुकुलो भए पनि भिडभाड हुने क्षेत्र जस्तै भेला, जुलुस, सम्मेलन, धार्मिक, सांस्कृतिक, सामाजिक गतिविधि, सभा, गोष्ठी, तालिम, सेमिनार गर्न नपाइने जनाइएको छ ।
त्यसैगरी सार्वजनिक खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार तथा भिडभाड हुने कार्य गर्न गराउन नपाइने, मन्दिर गुम्बा, चैत्य, विहार, चर्च (नित्य पुजा बाहेक) सामुहिक भेला हुने कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।
त्यसैगरी खेलकुद स्थल, मनोरन्जन स्थल, शारिरीक सुगठन गर्ने स्थान, स्वीमिङ पुल, जिमखाना, सामुहिक खेलकुद, होटेल, रेष्टुरेन्ट, गेष्ट हाउस, पार्टी प्यालेस, सैलुन, व्युटिपार्लर सञ्चालन भने गर्न नपाइने जनाइएको छ ।
त्यस्तै शैक्षिक क्षेत्रमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायत सञ्चालन गर्न नपाइने जनाइएको छ ।
सवारी साधनतर्फ यात्रुवहाक सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ ।
गर्न पाइने कार्यहरु
विवाह तथा व्रतबन्धनको हकमा १० जना भन्दा कम जम्मा भएर गर्न पाइने, सामाजिक दुरी कायम गरेर आफ्नै घरमा मात्रै विवाह गर्न पाइने भएको छ ।
त्यसैगरी जिल्लाका सबै सरकारी कार्यालयहरु र सार्वजनिक संस्थानहरुबाट उपलब्ध हुने सेवालाई सामाजिक दुरी कायम गरेर स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्नु पर्ने छ ।
त्यसैगरी प्रशासनले माथि उल्लेखित बाहेक सबै आर्थिक गतिविधि तथा व्यवसाय दैनिक रुपमा सञ्चालन गर्न पाइने तर अत्यावश्यक बाहेकका सेवा साँझ ६ बजेपछि अनिवार्य बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।

