स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या
सर्लाहीको ईश्वरपुरमा स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या भएको छ । शुक्रवार राती करिब ११ बजेतिर ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठ सोही वडाकाे भक्तिपुर निवासी हुन् । वडाध्यक्ष र डोजर चालकबीच विवाद भएको र चालकले डोजरको बकेटले हानेर श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यलय मलंगवाका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
‘उनीहरु पहिला घटनास्थल नजिकैको होटलमा बसेर खाजा खाएका थिए । खाजा खाँदै जाँदा उनीहरुबीच मनमुटाव सुरु भएछ ।’ प्रहरी उपरीक्षक राठौरले भने, ‘खाजा खाइसकेपछि दुवैजना घरतर्फ लागेका थिए । घरतर्फ लाग्दै गर्दा बाटाेमा उनीहरुबीच थप भनाभन भएछ । दुवैजनाबीच विवाद हुँदा चालकले अचानक नजिकै रहेको स्काभेटर स्टार्ट गरेर बकेटले हानी वडा अध्यक्षको हत्या गरेर हिलो माटोले पुरेको देखिन्छ ।’
घटनाको जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले वडाध्यक्ष श्रेष्ठलाई अचेत अवस्थामा हिलो माटोले पुरेको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक राठौरले बताए । वडाध्यक्ष श्रेष्ठलाई अस्पताल लगिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ निवासी ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजार विगाहका ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको हाे भने फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।
अन्दाजी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । अप्रत्यासित रुपमा घटेको घटनाका कारण गाउँ नै शोकमा परेकाे छ । घटनाको खास कारण पत्ता नलागेकाले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
