भरतपुर महानगरमा निकासबिनाको विकास
भरतपुर । धेरैजसो मानिसले विकास भनेको नै सडक–बाटो भनेर बुझ्ने गर्छन् । आफ्नो घरअगाडि पिच सडक बनेपछि विकास भएको मान्छन् । तर, त्यो पिच सडक कत्तिको गुणस्तरीय र वैज्ञानिक छ भनेर कमै मानिसले मात्रै चासो राख्छन् ।
भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएपछि कालोपत्रे सडक निर्माणले तीव्रता पाएको छ ।तर हिउँदमा चिल्ला देखिने पिच सडक बर्खामा पानी पर्नेवित्तिकै पोखरी बन्ने गरेको छ । महानगरमा कालोपत्रे गरिएका अधिकांश सडकमा नाली निर्माण गरिएको छैन । गत वर्षको बर्खामा पनि महानगरको सडकहरु डुबानमा परेका थिए ।
मोज्याक टायल खरिदमा कमिसन खान पाउने भएकाले महानगरले नाली निर्माणमा चासो नदिएको भरतपुर महानगरपालिका–९ शरदपुरका विष्णु भूसाल बताउँछन् । नालीका लागि सामान्य कंक्रिटको ढकनी भए पुग्छ । भूसालको घरअगाडिको १६ मिटर चौडाइ भएको हाकिमचोक–गौरीगञ्ज सडक भर्खरमात्रै विस्तार भएको हो । सडकको दुबै छेउमा टायल राखेर आकर्षक फुटपाथ पनि बनाइएको छ । तर, नाली बनाइएको छैन ।
हाकिमचोकदेखि भरतपुर अस्पतालसम्मको सडकमा पनि नाली बनाइएको छैन । यो क्षेत्र सरकारी कार्यालय बढी भएको क्षेत्र हो । बर्खामा यो सडकमा डुबानमा पर्दै आएको छ । यस सडक भएर हिँड्ने नागरिक र व्यवसाय गर्ने व्यवसायीलाई सडकमा बग्ने पानीले समस्या पर्ने गरेको छ ।
बर्खामा परेको पानीको निकास नहुँदा गत वर्ष यहाँका सरकारी कार्यालयहरुसमेत डुबानमा परेका थिए । भरतपुर महानगरको वडा नं १, २, ३, ७, ९, १०, ११ र १२ का घरहरु डुबानमा पर्ने गरेका छन् ।जनप्रतिनिधि आएको चार वर्षको अवधिमा भरतपुर महानगरपालिकामा लामा छोटा गरी ५१० किलोमिटर सडक कालोपत्रे भएको महानगरले बताउने गरेको छ। ४५० किलोमिटर सडक ग्राबेल भएको महानगरले जनाएको छ।
महानगरले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा मुख्य सडकहरुमा कालोपत्रे गर्नुभन्दा पहिले सतह ढल निर्माण गर्ने कुरालाई समावेश गरेको छ। त्यसैगरी, ६ मिटरभन्दा कम सडक अधिकार क्षेत्र भएका सडकमा मोज्याक टायल लगाउने नीतिलाई निरन्तरता दिइएको छ।
आगामी आवको नीति तथा कार्यक्रममा नाली र कालोपत्रे सडकलाई एकैचोटि गर्ने र नाली नभएका सडकमा नाली बनाउने कुरा समावेश गरिएको महानगरका प्रवक्ता अरूण पीडित भण्डारी बताउँछन् । बर्खाको पानी निकासका लागि नारायणी लिफ्ट खगेरी सिँचाइ आयोजनाको पुरिएका नहरहरु खोल्ने काम भइरहेको उनले बताए ।
