पृथ्वी चन्द्र जिल्ला अस्पतालमा न्युनमत सेवा मापदण्डमा सुधार
नवलपरासी/असार १८ ।
पृथ्वी चन्द्र अस्पताल परासीको न्युनमत सेवा मापदण्डमा सुधार भएको छ । पाँच प्रतिशतले सेवा प्रवाहमा सुधार देखिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताए।
लुम्बिनी प्रदेश सराकारको स्वास्थ्य निर्देशनालयले गरेको मुल्याङ्कनका आधारमा अस्पतालको सेवा गुणस्तरमा वृद्धि भएको हो । यसअघि ६ महिना अगाडि भएको सेवा परिक्षणमा अस्पतालको न्युनमत सेवा मापदण्ड ६२ प्रतिशत थियो । अस्पतालमा बहिरङ्ग सेवा व्यवस्थापन, विशेषज्ञ सेवा थप, प्रसुति सेवा २४ सै घण्टा, प्रयोगशालामा उपकरण थप लगाएतका कारण सेवा प्रवाहको गुणस्तरमा वृद्धि भएको डाक्टर होदाले बताए।
प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले हरेक ६/६ महिनामा न्युनतम सेवा मापदण्ड परिक्षण गर्दै आएको छ । अस्पतालमा स्वास्थ्य सेवाको उपलब्धता र गुणस्तर सुधारका लागी न्युनतम सेवा मापदण्डको परिक्षण गरिँदै आएको छ । पृथ्वी चन्द्र अस्पताल ५० शैयाको स्वीकृत प्राप्त अस्पताल भएपनि विविध कारणले अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन् ।
