काँग्रेस नवलपुरमा जिल्ला सभापतिको आकांक्षी को को ?




नवलपुर । पूर्वी नवलपरासीमा पनि नेपाली काँग्रेसको जिल्ला सभापतिको रुपमा ६ जनाको नाम चर्चामा रहेको छ ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र डा. शशांक कोइराला लाइनका गरी ३ लाइन रहेको नवलपुर काँग्रेसमा ३ वटै लाइनका प्रत्यासीहरुको चर्चा शुरु भएको छ।




यस अघि एउटै जिल्ला हुँदा पौडेल लाइनका महेन्द्रध्वज जिसीलाई तत्काल जिल्ला सभापति विष्णु लामिछानेले झिनो मत अन्तरले पराजित गरेका थिए ।

त्यसो त अहिले पनि अन्तिममा विष्णु लामिछाने र महेन्द्रध्वज जिसीबीच प्रतिप्रर्धा हुने सम्भावना प्रवल रहे पनि अहिले हालका सभापति विष्णु लामिछाने, हालका सचिव बालकृष्ण घिमिरे, सभापतिमा पराजित भएका महेन्द्रध्वज जिसी, विष्णु कार्की, मदनभक्त अधिकारी र गजेन्द्र आलेको नाम चर्चामा रहेको छ ।

तथापि यि सबैले व्यक्तिगत भेटघाट बढाएको भएपनि सार्वजनिक रुपमा उम्मेदवारी नै घोषणा भने गरेका छैनन् । तथापि जिल्ला सभापति विष्णु लामिछानेले आफ्नो दावी जिल्ला सभापतिमा भन्दा पनि प्रदेश महामन्त्रीमा रहेको बताए।

महेन्द्रध्वज जिसी पौडेल लाइनका हुन् । त्यसैगरी विष्णु कार्की, मदनभक्त अधिकारी र गजेन्द्र आले देउवा निकट मानिन्छन भने विष्णु लामिछाने र बालकृष्ण घिमिरे डा. कोइराला निकट मानिन्छन्।

विष्णु  लामिछानेले भने सर्वसम्मतको प्रयास हुने छ । सर्वसम्मत हुँदा जो पनि आउन सक्ने अवस्था हुन्छ ।

काँग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशिल सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रिय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

जिल्लाबाट पुरानो ८ हजार सहित १६ हजार ५ सय बढीको क्रियाशिल सदस्यता पठाइएको पार्टी सचिव बालकृष्ण घिमिरे दाउन्ने न्यूजलाई बताए।



सम्बन्धित
Loading...