बुटवल नारायणगढ मृत सडकः बेलैमा निर्माण नसक्दा सास्ती
रामकुमार श्रेष्ठ –
नवलपरासी, २५ असार ।
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड निर्माण कार्य बेलैमा निर्माण नहुँदा अहिले आमसर्वसाधारणले यात्रामा निक्कै सास्ती खेप्नु परेको छ ।
बुटवलदेखि नारायणगढसम्मको झण्डै १ सय १४ किलोमिटर सडक अहिले ४ लेनको बनाउने कार्य चलिरहेको छ तर अहिलेसम्म ६ प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।
बर्षा शुरु भएसँगै बुटवल नारायणगढसडक खण्डको दाउन्ने खण्ड, गैडाकोट खण्ड, सुनवल भूमही खण्ड र कावासोतीमा पटक पटक सडक, डाइभर्सन भत्कने गरेको छ ।
विहीबार पूर्वी नवलपरासीको कावासोती २ थाना चोक नजिकै अर्थात डिभिजन वन कार्यालय नवलपुर नजिकै कल्भर्ड भत्किएको छ । विहिबार विहान ८ बजेबाट उक्त खण्डमा सडक अवरुद्ध भएको हो जुन सडक शुक्रबार खुलाउने प्रयास भईरहेको छ ।
तथापि भित्रि बाटो प्रयोग गरेर हल्का तथा यात्रुवाहक सवारी साधन मात्र सञ्चालनमा ल्याइएको छ भने मालबहाक सवारी साधन भने बीच बाटोमा नै रोकिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले सडक मर्मत कार्य चलिरहेको बताए ।
यस अघि आएको बाढीले बुटवल नारायणगढ सडक खण्डकै गैडाकोटका ३ वटा डाइभर्सन भत्किएको थियो । जुन मर्मत गरेर यातायात सञ्चालनका लागि दुई दिन लागेको थियो भने त्यस अघि भूमही सुनवल र रुपन्देहीको देवदह क्षेत्रमा पनि डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुन पुगेको थियो ।
मृत सडक
नेपालकै मुख्य सडक पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक भौतिक संरचना निर्माण पछिको हिसाबले अहिले मृत सडक सरह नै हो । सडक ठाउँठाउँमा खाल्डा खुल्टी पर्ने, ससाना बाढी तथा बर्षाले ठाउँठाउँमा पहिरो खस्ने, सडक बगाउँने, बेला बेलामा पुल भासिने तथा सवारी साधनको सामान्य ठक्करबाट पनि सडकमा रहेको पक्की पुलहरु भाँचिने गरेको छ ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका भन्छिन् – बुटवल नारायणगढ सडक म्याद नाघेको सडक हो । बेलैमा सडक निर्माण गरिदिएको भए अवस्था यस्तो आउने थिएन ।
उनका अनुसार सडक निर्माणको जिम्मा लिएको कम्पनी चाइना स्टेट कन्सटक्र्सनलाई पटक पटक छिटो छिटो काम गर्न निर्देशन गर्दा पनि काममा ढिलाई गर्ने गरेको छ तथापि अहिले बाढीको समयमा भने सडक भत्कना साथ वैकल्पिक बाटो खोल्न वा डाइभर्सन मर्मतका लागि भने छिटो गरिदिने गरेको छ ।
बुटवल नारायणगढ खण्डको १ सय १४ किलोमिटर सडक निर्माणको लागि चाइना स्टेट कन्सटक्र्सनले जिम्मा लिएको छ । ०७५ चैत्रदेखि शुरु गरी ०७८ भित्र सक्ने गरी उक्त कम्पनीले निर्माणको काम लिएको हो । बुटवल नारायणगढ सडक खण्डको ४ लेन निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
अहिले उक्त सडक हजारौं ठाउँमा खल्डाखुल्डी छ । साना ठूला पानीले डाइभर्सन बगाउने गरेको छ । डाइभर्सनबाट प्रयाप्त पानीको निकास नहुँदा सडकदेखि उत्तरको भुभाग डुबानमा पार्ने जस्ता समस्याहरु अहिले बर्षाको समयमा देखिएको छ ।
त्यति मात्र होइन सडक निर्माणमा जेसिभी र डोजरहरु जथाभावी प्रयोग गर्दा, नेपाल टेलिकम, एनसेलका सेवाका साथै विभिन्न कम्पनीका इन्टरनेट सेवा पनि पटक पटक अवरुद्ध हुने गरेको छ ।
नारायणगढ बुटवल सडक खण्ड दाउन्नेदेखि पूर्व र दाउन्नेदेखि पश्चिम गरेर दुई खण्डमा निर्माण चलिरहेको छ । सडक निर्माणको सम्झौता अनुसार अहिले ७० प्रतिशत बढी काम सक्नु पर्नेमा जम्मा ६ प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पंगेनी भन्छिन् – निषेधाज्ञाको समयमा पनि काम गर्न भन्यौ तर गरेन जसले गर्दा काम निक्कै ढिलो गतिमा भएको छ ।
बुटवल नारायणगढ सडक खण्डमा अहिले बाटोको दायाँबायाँ रुख काट्ने, बाटो सम्याउने, कल्भर्ड, पुल निर्माणको काम चलिरहेको भए पनि नेपाल विद्युत प्राधिकरणको पोल सार्ने, स्थानीय खानेपानी आयोजनाका पाइपहरु सार्ने, नेपाल टेलिकम लगायतका सञ्चार क्षेत्रका फाइबर लाइन सार्ने लगायतका महत्वपूर्ण काम अझै शुरु सम्म हुन सकेको छैन ।
