माछा मार्न ह्युमपाइपभित्र पसेका युवक मृत फेला
भरतपुर । माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ह्युमपाइपभित्र पसेका भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।
श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए । ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले माछा मार्न ह्युमपाइपभित्र छिरेर बेपत्ता भएका श्रेष्ठको खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको बताए । उनका अनुसार आज दिउँसो १२ः२५ बजे ह्युमपाइप भित्रबाट श्रेष्ठको शव निकालिएको थियो ।
