नवलपुर जिल्लामा १६ अर्ब ५५ लाख २१ हजार रुपैया राजश्व संकलन
नवलपुर,२८ असार । नवलपुर जिल्लामा १६ अर्ब ५५ लाख २१ हजार रुपैया राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय कावासोतीका सूचना अधिकारी अमृत अधिकारीका अनुसार चालु आर्थिक वर्षको असार २३ गतेसम्म उक्त रकम बरावरको राजश्व संकलन भएको हो ।
सवैभन्दा वढि राजश्व अन्तशुल्कबाट १५ अर्ब १२ करोड ५४ लाख उन्नाइस हजार रुपैया संकलन भएको छ । त्यस्तै आयरकबाट ५० करोड ७३ लाख ३३ हजार, मूल्य अभिवृद्धि करबाट ३५ करोड ४० लाख सैँतीस हजार र अन्य (शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क) बाट १ करोड ८७ लाख ३३ हजार रुपैया राजश्व संकलन भएको हो ।
आन्तरिक राजस्व कार्यालय, कावासोतीमा दर्ता भएर सक्रिय रहेका करदाताको संख्या हालसम्म ३७ हजार ११५ पुगेको छ । जसमध्ये आयकरमा २१ हजार २८२ दर्ता भएका छन् भने मूल्य अभिवृद्धि करमा २ हजार ३ सय ९६, अन्त शुल्कमा १ हजार ८२५ जना र ५१ वटा सरकारी संस्था तथा कार्यालय दर्ता भई कर तिरीरहेका छन् ।
त्यस्तै राजश्व कार्यालयमा हालसम्म १५ हजार ७८२ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । चालु आर्थिक वर्षमा मात्रै ५ हजार ६६१ जनाले प्यान नम्वर लिएका छन् । सूचना अधिकारी अमृत अधिकारीका अनुसार चालु आर्थिक वर्षमा मात्रै १० हजार ३५७ जना करदाता थपिएका छन् ।