नवलपरासीमा सकियो भुकम्प पछिको पुननिर्माण
नवलपुर । नवलपरासीमा महाभुकम्पले भएको क्षतिको पुननिर्माण सकिएको छ ।
निजी आवास सरकारी भवन तथा सार्वजनिक सम्पत्ति तर्फ पुननिर्माण सकिएको हो । विद्यालयतर्फको पुननिर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
शैक्षिक क्षेत्र बाहेकका पुननिर्माण सकिएको राष्ट्रिय पु्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपरासीले मंगलबार आयोजना गरेको बार्षिक प्रगति समीक्षा विवरणमा जनाइएको थियो ।
भुकम्पबाट क्षति भएर पुननिर्माणका लागि सम्झौता गर्न नआएका अर्थात सम्पर्कमा नरहेको ३ जना बाहेक सम्पूर्णको निर्माण सकिएको ईकाई प्रमुख राजेन्द्र कार्कीले बताए ।
संघीय संरचना पनि पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरेर दुई खण्डमा विभाजित नवलपरासी जिल्लाको दुवै जिल्लामा निर्माणको काम सकिएको छ ।
नवलपरासी पूर्व १ हजार ५३ र नवलपरासी पश्चिम २१ गरी १ हजार ७१ जना सेवाग्राहीहरुले पुननिर्माणका लागि सम्झौता गर्नु पर्नेमा १ हजार ७१ जनाले सम्झौता गरेको र सबैले पुननिर्माण सकेको कार्कीले बताए । जस मध्ये १३ जनाले तेस्रो किस्ता रकम लैजान बाँकी रहेको छ ।
भुकम्पीय आवास पनुनिर्माण आयोजना अन्तरगतको पुननिर्माण सकिएसँगै नवलपुरमा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई भदौबाट नवलपुरबाट बन्द हुने भएको छ ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय कार्यालय नवलपुरका प्रमुख चेसराम आले, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, नवलपुरका प्रहरी प्रमुख प्रकाश मल्ल, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

