नयाँ सरकार गठनको रस्साकस्सी
सर्वोच्चले संसद पुनस्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि विपक्षी गठबन्धन यति बेला सरकार बनाउने रस्साकस्सीमा लागेको छ ।
मंगलबार देउवा नेतृत्वको सरकार गठन हुँदै छ । जसमा काँग्रेस सहित नेकपा माओवादी केन्द्र लगायतका गठबन्धन सरकारमा जाँदै छ भने नेकपा एमाले सहितको सरकार बनाउन माधवकुमार नेपाल समूहले दबाब दिंदै आएको छ ।
अहिले नेपाली काँग्रेस र नेकपा माआवोदी केन्द्र सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाउन लागि परेको छ भने राष्ट्रिय जनमोर्चा तत्कालै सरकारमा नजाने जनाएको छ ।
देउवालाई प्रधानमन्त्रीमा सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी
सर्वोच्च अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।
देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । हिजो सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ ।
यी हुन् कांग्रेसका सम्भावित मन्त्री
नेपाली कांग्रेसका सभापति शेरबहादुरले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनले आजै सानो आकारको मन्त्रिपरिष गठन गर्ने तयारी गरेका छन्।
कांग्रेसका तर्फबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, मीनेन्द्र रिजालदेखि गगन थापासम्मको नाम मन्त्री बन्नेको चर्चामा ल्याइएको छ।
त्यस्तै माओवादी केन्द्रबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ।
मन्त्री छान्न अहिले पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बसिरहेको छ।
माओवादीबाट सरकारमा जाने मन्त्रीहरूकाे टुंगो प्रचण्डले लगाउने
नेकपा माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरुको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुंगो लगाउने भएका छन् ।
आज बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी दिएको हो ।
यसका लागि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर नाम टुंगो लगाउनेछन् । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार देउवासँग अध्यक्ष प्रचण्डले छलफल गरेपछि मात्रै मन्त्रीहरुको नाम टुंगो लाग्ने छ ।
राष्ट्रिय जनमोर्चा आजै सरकारमा जाने सम्भावना कम
राष्ट्रिय जनमोर्चा आजै सरकारमा सहभागी हुने सम्भावना कम रहेको सो पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ ।
उपाध्यक्ष पौडेलले भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने सम्भावना कम छ ।’ सोमबार बसेको विपक्षी गठधबन्धनको बैठकमा पनि उपाध्यक्ष पौडेलले सरकारमा सहभागी हुने/नहुने भनेर पार्टीले केही निर्णय नगरेको बताएकी थिइन् ।
मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै
सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ ।
छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए ।
देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सरकारमा सहभागीताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु व्यस्त छन् ।
