ट्रकको ठक्करले बाबु-छोराको मृत्यु
धादिङ । धादिङको थांक्रे गाउँपालिका–६, महादेवबेँशीस्थित पृथ्वी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।
काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले मंगलबार दिउँसो १२ बजेतिर बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका–१३ का ३५ वर्षीय नारायण शिवभक्ति र उनका छोरा १० वर्षीय आर्यन शिवभक्तिको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।
बाबुको उपचारको क्रममा काठमाडौँको महाबौद्धस्थित ट्रमा सेन्टर र छोराको घटनास्थलमा नै ज्यान गएको हो । मोटरसाइकल काठमाडौँबाट धादिङको नौबिसे गल्छी हुँदै नुवाकोटको विदुरतर्फ जाँदै गरेको थियो ।
दुर्घटनामा परी मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका २० वर्षीय जीवन घर्ती घाइते भएका छन् । घाइते जीवनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई सिम्ले प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि आक्रोशित हुन पुगेका स्थानीय बासिन्दाले केही बेर पृथ्वी राजमार्गमा प्रदर्शन गर्दै सवारी आवागमन रोकेका थिए ।