सुजिता हत्या आरोपमा देवरसहित चार जना पक्राउ
महोत्तरीकी सुजिता ठाकुरको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका – ७ भ्रमरपुराकी २६ वर्षीया ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय ‘बण्ठा’ भनिने किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
गत जेठ २० गते सुजिताको आफ्नै कोठामा हत्या भएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको हत्या गरेको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको स्वीकार गरिसकेका छन् ।
देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्याइ घाँटीसमेत थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा फेला पारेको थियो ।
