चितवनमा निषेधाज्ञा थपियो, रेस्टुरेन्टहरु खुले, भौतिकरुपमा पठनपाठन अझै बन्द
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण अझै उच्च रहेको अवस्थालाई मध्यनजर गर्दै साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
प्रजिअ प्रेमलाल लामिछानेद्वारा जारी आदेशअनुसार खाजाघर तथा रेस्टुरेन्टहरु बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यस्तै, होटल तथा लज सञ्चालनका सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्नेगरी कुल कोठा संख्याको एकतिहाइ संख्या नबढ्नेगरी सञ्चालन गर्न पाइने छ । कोठाहरु हरेक दिन निसंक्रमण गर्नुपर्ने प्रजिअले जारी गरेको आदेशमा जनाइएको छ ।
यस्तै, सार्वजनिक सवारी साधनमा अझै जोर बिजोर प्रणाली लागू गरिएको छ । जसअनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । यस्तै, भौतिकरुपमा उपस्थित भई पठनपाठनलगायतका शैक्षिक गतिविधि सञ्चालन गर्न नपाइने भएको छ ।
परीक्षा सञ्चालनका सम्बन्धमा भने २५ जनाभन्दा बढी सहभागी नहुनेगरी सञ्चालन गर्ने, २५ जनाभन्दा बढी परीक्षार्थी जम्मा हुने अवस्था भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गर्नुपर्ने प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ ।
विभिन्न संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने, घरमा १५ जनाभन्दा बढी नबढ्ने गरी सञ्चालन गर्नुपर्ने, मठमन्दिरलगायत धार्मिकस्थलहरुमा दैनिक पूजाआजाबाहेक जमघट गर्न नपाइने आदेशमा जनाइएको छ ।