आज साउने संक्रान्ति, लुतो फाल्ने प्रचलन हराउँदै


काठमाडौं । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।



विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् ।

त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने गरिन्छ ।




पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । दिनभर परिवार, आफन्त जम्मा भएर मिठो, मसिनो खाने साँझ घरघरमा लुतो फल्ने परम्परा छ ।

पहाडी भेगमा कुरिलो, धसिँगारे, कुकर डाइनो, भलायो, हाडे उनिऊँ, पानी सरो, पानीअमला जस्ता वनस्पति जम्मा पारी आँगनमा आगो बाल्ने प्रचलन छ ।

कण्डारक नामको राक्षसको पूजा गरी चारै दिशामा अगुल्टो फालिन्छ । साउन महिनाभर पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साउने सोमबारलाई महादेवको पूजा, आराधनाका लागि विशेष दिनका रुपमा लिइन्छ ।

लुतो फाल्ने विधि

साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन अहिले पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । लुतो फाल्ने दिन दिउँसोमा जंगलमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । ती संकलित वनस्पतिको साथमा यही दिन कन्दारक पूजा पनि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको ढुंगेल बताउँछन् ।

लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ ।

सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ । जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चिजका अलावा बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ ।

संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । यो हिलोमा बेस्सरी काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने उपाय हो भन्छन् बुढापाकाहरु । पूजा सकेपछि दियालो बालिन्छ । कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैँ पड्किन सुरु हुन्छ । कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।

कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्काे गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्काे गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन् ।

उबेलाको लुतो फाल्ने चलन

पहिले र अहिलेको लुतो फाल्ने चलन धेरै परिवर्तन भइसकेको बताउँछन् वरिष्ठ पत्रकार रिसाल । अहिले त यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ ।

उनी हिजो आज धसिङ्गरे लगायत वनस्पति लिन वनपाखा जाने चलन हराएकोमा दुःख मान्छन् । धसिंगलेसँगै नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छवालीका मुठा बाल्ने चलन पनि पहिलेको भन्दा फरक रहेको रिसाल बताउँछन् । यसरी पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएकोमा उनी दुःख मान्छन् ।

आफूहरु सानो छँदा अनन्तलिंगेश्वरको डाँडामा गएर थसिंगरे लगायतका वनस्पतिहरु ल्याएर विधिपूर्वक लुतो फालेको उनी सुनाउँछन् । त्यहाँ लुतो फाल्न चाहिने सबै वनस्पति पाइन्थे । उनी भन्छन् ‘साउने संक्रान्तिका दिन गाउँका हामी ८÷१० जना किशोरहरू ती सामग्री लिन डाँडामा उक्लिन्थ्यौं ।’

ती सबै सामान ल्याएर लुते देवताको पूजा गर्ने गरिन्थ्यो । पूजापछि दाउराको स–साना टुक्रा जम्मा पारिन्थे ।



सम्बन्धित
Loading...