सुनवलका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो
गोपी ज्ञवाली –
सुनवल । अंग्रेजी भाषामा पढने र महंगा निजी विद्यालयमा पढन जाने एक प्रकारले नेपाली समाजको फैसन बन्दै गएको अवस्थामा यो प्रचलनको विपरित पश्चिम नवलपरासीको सुनवलमा भने निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको संख्या बढ्दो अवस्थामा रहेको पाईएको छ ।
स्थानीय स्तरका सरकारको गठन पछि सुनवल नगरपालिकामा सामुदायिक विद्यालयहरुको अवस्था क्रमश सुधार हुदै गए पछि सुनवल नगरपालिकाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको छ ।
सामुदायिक विद्यालयको स्तर सुधारका लागि स्थानीय सरकारको तर्फबाट सुनवलका सामुदायिक विद्यालयहरुलाई नगद अनुदान दिनेदेखि लिएर नितीगत रुपमा समेत अनेक विषय परिवर्तन गर्दै लगे पछि पछिल्लो चार वर्ष देखि सुनवलकामा निजी विद्यालयहरु छाडेर सामुदायिक विद्यालयमा आउने क्रममा क्रमश बृद्धि हुदै गएको सुनवल नगरपालिका शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद गोतामेले बताए ।
सुनवल नगरपालिकाको शिक्षा शाखाको तथ्यांंकका अनुसार २०७५÷७६ को शैक्षिक शत्रमा नर्सरीदेखि कक्षा एक सम्ममा विद्यार्र्थी संख्या १ हजार ५ सय १०, आधारभुत तह (कक्षा १ देखि ८ सम्म) का कक्षाहरुमा ३ हजार ९ सय ५७, माध्यामिक स्तर (कक्षा ९ देखि १२ सम्म) मा विद्यार्थीको संख्या २ हजार ५५ रहेको थियो भने शैक्षिक शत्र २०७६/७७ मा विद्यार्थी संख्या बढेर कक्षा एक सम्म १ हजार ७ सय ७१, आधारभुत तहमा ५ हजार १ सय ६६, माध्यामिक तहमा ३ हजार ४२ विद्यार्थीको आगमन भएको देखिन्छ । त्यसैगरी २०७७/७८ को शैक्षिक शत्रमा विद्यार्थी संख्या बढेर कक्षा एक सम्मको कक्षाहरुमा २ हजार ६ सय ५, आधारभुत तहमा ६ हजार ४ सय ६ एवं माध्यामिक तहमा ३ हजार ७ सय ९५ जना रहेको पाईएको छ ।
सामुदायिक विद्यालयको स्तर सुधार्नका लागि स्थानीय तहको सरकार बने पछि सामुदायिक विद्यालयहरुलाई स्थानीय सरकारले अनुदानमा विद्यालयहरुलाई यातायातको लागि बस, विद्युतीय रिक्सा, भौतिक सुधारका लागि विद्यालय भवनहरुको निर्माणमा सहयोग, बालकक्षाको आधुनिकीकरण एवं सुधार, खेल मैदान र विद्यार्थीको मनेरंजनमा सुधार, शिक्षाको गुणस्तरमा सुधारका लागि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन, कम्प्युर शिक्षा, शिक्षकहरुलाई उत्प्रेरणा तालिम, पुराना शिक्षकहरुलाई कम्पयुटर शिक्षाको तालिम लगायतका कामहरु गरेको सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले जानकारी दिए ।
सामुदायिक विद्यालयहरुको स्तर माथि उठाएर शिक्षामा ब्यापक सुधारका लागि पछिल्लो दुई वर्षदेखि नगरपालिकाको विशेष अनुदानमा सामुदायिक विद्यालयहरुमा निजी विद्यालय सरह निशुल्क रुपमा प्राईवेट प्रकाशनका पुस्तकहरु समेत पठनपाठनमा प्रयोगक ल्याएको नगरप्रमुख थापाले बताए ।
पछिल्ला वर्षहरुमा सुनवल नगरपालिकाले शिक्षामा गरेको ब्यापक सुधारका कारण सुनवल नगरपालिकाका विद्यालयहरुमा अन्य छिमेकी पालिकाहरुबाट समेत विद्यार्थीको आउने क्रम बढेको बताईएको छ ।
