सुखी र समृद्ध गण्डकी प्रदेश सरकारको मुख्य प्राथमिकता – मुख्यमन्त्री नेपाली




कावासोती , साउन ३ गते ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सुखी र समृद्ध गण्डकी प्रदेश निर्माण गर्नु नै प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । हरेक क्षेत्रको विकास गरि प्रदेशलाई समृद्ध बनाउने ध्येयमा सरकार लाग्ने उनले बताए ।




आईतबार गृह जिल्ला पूर्वी नवलपरासीको कावासोतीमा नेपाली काङग्रेस जिल्ला समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री नेपालीले प्रदेश सरकारले अहिलेको कोभिड – १९ को महामारी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै नागरिकलाई खोप उपलब्ध गराउने काममा पहल गरिरहेको बताए । ‘अहिले केन्द्रबाट मात्रै खोप आएको छ । प्रदेशले सिधै खोप किन्न सकेको छैन् । प्रदेशले सिधै खोप खरीद गर्ने प्रयत्नमा लागेका छौँ । ’ नेपालीले भने ।

यस्तै प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरो लगायतका विपदले जनजिवन प्रभावित भएकाले विपद न्युनीकरण र विपदमा परेका नागरिकको व्यवस्थापन गर्न सरकार नचुक्ने बताए ।
उनले मनाङ , मुस्ताङ , गोरखाका विकट क्षेत्रमा हेलिकोप्टर बाटै राहत , उद्धारका काम गरिएको बताउदै भने – ‘प्राकृतिक विपत्तिबाट विस्थापितहरुको व्यवस्थापनमा कुनै पनि कुराको अभाव हुने छैन् । सरकारले जसरी पनि व्यवस्थापन गर्छ । ’

यस्तै उनले उत्तर र दक्षिण सिमा जोड्ने सडकलाई पहिलो प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको बताए । दुम्किवास त्रिवेणी जोड्ने सडक निर्माण गर्न निकुञ्जसंग समन्वय गर्ने, यदि निकुञ्ज सहमत नभए अन्य विकल्पबाट भए पनि काम गर्ने प्रतिबद्धता जनाए । नवलपुर आफ्नो गृह जिल्ला भएकाले यहाँको विकासको लागि कुनै कसर बाँकी नराख्ने उनको जिकिर थियो ।

फरक प्रसङ्गमा उनले नेपाली काङग्रेसले नेतृत्व ग¥यो भन्ने सन्देश गण्डकी प्रदेशले दिनु राम्रो पक्ष भएको बताए । यो काङग्रेसका लागि अवसर संगै ठूलो चुनौती समेत रहेको बताए । उनले राजनितीमा धैर्यता र निरन्तरता भएमा अवसर पाईन्छ भन्ने कुराको उदाहरण आज आफुले दिएको जिकिर गरे ।

उनले आइतबार नै कावासोती ८ को वडा कार्यालय समेत उद्घाटन गरेका थिए ।



सम्बन्धित
Loading...