मध्यविन्दुको न्यायिक समितिमा मुद्दाको चाप बढ्दो, १ सय २२ मुद्दामा ८५ पछ्र्यौट
गंगा विश्वकर्मा –
नवलपुर । न्यायिक समितिबाट हुने न्यायिक निरुपणमा स्थानीयहरुको विश्वास बढ्न थालेपछि मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेको छ ।
नगर उपप्रमुख ओम कुमारी महतोको संयोजत्वमा रहेको मध्यविन्दु नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७७÷७८ मा ८५ वटा मुद्दा फर्छ्यौट गरेको छ ।
आ.व. २०७६/०७७ मा ६५ वटा मात्रै मुद्दा आएको न्यायिक समितिमा २०७७÷७८ दोब्बर भन्दा बढी मुद्दा परे । कुल एक सय २२ वटा मुद्दा परेको न्यायिक समितिमा ८५ वटा मुद्दा फर्छ्यौट हुदाँ ३७ वटा मुद्दा पक्रियामा रहेको नगरपालिकाका मेलमिलाप सहजकर्ता सरिता के.सी.ले बताए ।
न्यायिक समितिमा आउने अधिकाम्स मुद्दामा दुवै पक्षलाई जित हुनेगरी मेलमिलाप गरिने भएकाले यसमा स्थानीयको विश्वास बढ्दै गएको के.सी. बताए । न्यायिक समितिमा आउने अधिकाम्स मुद्दाहरु पति पत्नि बीचको विवाद, पारिवारिक झगडा र जग्गा साँध सम्बन्धी विवाद हुने गरेको मध्यविन्दु नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक ओम कुमारी महतोले बताए ।
“अधिकाम्स मुद्दाहरु पारिवारिक नै हुन्छन्, कि त छिमेकीका, त्यसैले न्यायिक समितिमा आउने मुद्दाहरुमा छलफल मार्फत मेलमिलाप हुने गरेको छ ।” न्यायिक समिति संयोजक महतोले भने –“२०७६÷०७७ मा यहाँ मेलमिलापन हुन नसकेका पाँच वटा मुद्दा अन्य निकायमा पठाएको थियौं । यो पटक ८५ वटा मिलायौं, ३७ वटा प्रक्रियामा छन् । अन्य निकाय पठाएको छैनौं ।”
न्यायिक समितिलाई प्रदान गरिएको अधिकार क्षेत्र भन्दा बाहिरका मुद्दाहरुमा समेत न्यायिक समितिमा उजुरी दिन आउने गरेको मेलमिलाप सहजकर्ता के.सी.ले बताए । त्यसरी आएका मुद्दालाई सम्बन्धित निकायमा जानका लागि सुझाव दिने गरेको उनले बताए ।
के.सी.का अनुसार आ.व. २०७७÷७८ मा पति पत्नि बीचको विवादका ३९ वटा मुद्दा परेकोमा ३१ वटा मेलमिलाप भएको छ भने ८ वटा प्रक्रियामा रहेका छन् जस मध्ये दुई जना सम्पर्कमा नआएको र एक वटा विदेश गरेका छन् ।
त्यस्तै परिवारीक विवादका ८ मुद्दामा पाँच वटा मेलमिलाप हुदाँ तिन वटा पक्रियामा, जग्गा साँध सम्बन्धि विवाद ३५ वटामा २४ वटा मेलमिलाप हुदाँ ११ वटा प्रक्रियामा रहेका छन् जसमा दुई वटा सम्पर्कमा नआएको र एक वटा आफै मिलेको के.सीले बताए ।
लेनदेन सम्बन्धि विवादका पाँच वटा मुद्दामा चार वटामा मेलमिलाप हुदाँ बाँकी रहेको एक वटामा आफैं मिलेको केसीले बताए ।
बाटोको विवादका आठ वटा मुद्दामा चार वटामा मेलमिलाप हुदाँ चार वटा पक्रियामा, प्रदुषण फैलाएको ६ वटा मुद्दामा चार वटामा मेलमिलाप हुदाँ बाँकी रहेका दुई वटा मुद्दामा दुवै पक्ष सम्पर्कमा आएका छैनन् ।
पोखरी सम्बन्धी एक वटा मुद्दा मेलमिलाप, खानेपानी सम्बन्धि विवाद दुई वटामा एक वटा मेलमिलाप एक वटा प्रक्रियामा, साधमा विरुवा लगाएको ६ वटा मुद्दामा पाँच वटामा मेलमिलाप हुदाँ एक वटा आफैं मिलेका छन् ।
कुलो सम्बन्धि पाँच वटा मुद्दामा एक वटा मेलमिलाप हुदाँ चार वटा पक्रियामा रहेका छन् सो मध्ये दुई वटा मा आफैं मिलेको केसीले बताए ।
घर सम्बन्धि एक वटा मुद्दामा दोस्रो व्यक्तिको ठेगना थाहा नभएको, जेष्ठ नागरिक सम्बन्धि विवाद एक वटा परेकोमा मेलमिलाप, गालिबेज्यत सम्बन्धि विवाद दुई वटा परेकोमा दुवैमा मेलमिलाप, पोल्टी फर्मको एक वटा विवादमा मेलमिलाप, आलि धुर विवाद एक वटामा मेलमिलाप र बलेसीको पानी झारेको विवाद एक वटा पक्रियामा रहेका छन् ।
