नवलपरासीमा टिपरको साइलेन्सर काट्दै ट्राफिक प्रहरी





हरि शर्मा –
नवलपुर, ५ साउन । सडकमा अत्याधिक धुँलो उडाउन थालेपछि जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीले टिपरहरुको साइलेन्सर काट्ने अभियान सञ्चालन गरेको छ ।

धुँलोका कारण अन्य सवारीसाधनको आवतजावत र पैदल यात्रीलाई सास्ती भएको थियो । धुँलोका कारण सडक नदेखिँदा अन्य सवारीसाधनको दुर्घटना बढ्ने र सञ्चालनमा समेत कठिनाई भएपछि मंगलबारदेखि अभियान सुरु गरिएको अस्थायी ट्राफिक पोष्ट दाउन्नेका सहायक निरीक्षक (सई) मिन बहादुर कुँवरले बताए । यो अभियान दाउन्ने क्षेत्रमा पर्ने राजमार्गबाट सुरु गरिएको हो ।




अधिकांश टिपरहरुको साइलेन्सर भूँई तिर फर्किएको छ । मर्मत हुँदै गरेका सडकहरु र अन्य कच्चि सडकमा सञ्चालन हुने टिपरहरुको लोडका कारण पिकअप बढी लिनुपर्ने र त्यसको हावाले अत्याधिक धुँलो उडाएपछि साइलेन्सर काट्न थालिएको कुँवरले बताए । बुटवल–नारायणगढको राजमार्ग अहिले मर्मतहुँदै छ ।

सोही राजमार्गको दाउन्ने क्षेत्र पहाडी मार्गमा पर्ने र पिकअप बढी लिनुपर्ने भएकाले त्यस क्षेत्रमा अत्याधिक धुँलो उड्ने गरेको छ । धुँलोका कारण त्यस क्षेत्रमा रातपरे सरह सवारीसाधनले दिउँसै लाइट बालेर हिड्नु पर्ने अवस्था छ ।

नदीजन्य पदार्थ बोकेका टिपरहरु सोही राजमार्ग भएर चल्ने गरेका छन् । ‘ भूँईतिर फकाईएका टिपरहरुको साइलेन्सर काटिएको र छोटा तथा माथि उठेका साइलेन्सरहरुलाई फलामको पाता जोडेर माथि फर्काइएको छ । ’ कुँवरले भने । १÷२ वटा बाहेक सबै टिपरको भूँइतिरै साइलेन्सर जडान छ । अन्य ट्रकहरुको भने अधिकांश साइलेन्सर माथि नै रहेकोले समस्या नभएको उनको भनाई छ । यो अभियान निरन्तर चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...