नवलपुरमा निशेधाज्ञा उल्लंघन गरी साधारण सभा गर्ने दुई जना पक्राउ




नवलपुर, ७ साउन ।
पूर्वी नवलपरासीमा निशेधाज्ञा उल्लंघन गरी साधारण सभा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुप्सेकोट गाउँपालिकामा रहेको देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेक बहादुर पुलामी र सचिव भिम नारायण रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




बिहिबारलाई तोकिएको संस्थाको साधारण सभा तथा अधिवेशन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले गरेको पत्रचारको अवज्ञा गरेको भन्दै संस्थाका अध्यक्ष पुलामी र सचिव रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको समयमा बिहिबार संस्थाको साधारण सभा तथा अधिवेशन आयोजना गरिएको थियो ।
३ हजार भन्दा बढी उपभोक्ता रहेको खानेपानी संस्थाको साधारण सभामा हुने भिडको कारण कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै प्रशासन कार्यालयले सभा स्थगित गर्न पत्रचार गरेको थियो । तर, प्रशासन कार्यालयको पत्रको अवज्ञा गर्दै भेला आयोजना हुन लागेको जानकारी प्राप्त भएपछि संस्थाका अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

साधारण सभा सम्बन्धी जानकारी कार्यालयमा प्राप्त भए पस्चात भेला आयोजना नगर्न अनुरोध र पुनः पत्रचार समेत गर्दा अवज्ञा गरेपछि बिहिबारको भेला स्थगित गराउनको लागि अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले जानकारी दिइन् ।

भेला आयोजना गर्नु पूर्व नै अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएकाले उनहरु विरुद्ध मुद्दा नै भने दायर नगरिने प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् । अप्रत्यासित रुपमा हुने भेला तथा कार्यक्रमहरुमा हुने भिड नियन्त्रण गर्न गाह्रो भएपनि पूर्वनिर्धारित कार्यक्रम अनुसार भेला तथा सभाहरु आयोजना गर्नु निषेधाज्ञाको अवज्ञा हुने प्रशासनको ठहर छ ।



सम्बन्धित
Loading...