साउनको पहिलो सातासम्म नवलपुरमा सकियो ९५ प्रतिशत रोपाईं
नवलपुर । साउन पहिलो साता सम्ममा नवलपरासी पूर्व नवलपुर जिल्लामा यस वर्ष करिव ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ ।
समयमा पानी परेपछि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेतीयोग्य जमिनमा धान रोपिएको हो । समयमा नै मनसुन शुरु भएको कारण यस वर्ष साउन पहिलो सातामा नै ९५ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शंकर पौडेलले बताए ।
नवलपुरको मध्यविन्दु, कावासोती, देवचुली, गैडाकोट नगरपालिका सहित विनयी त्रिवेणी, हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकामा धान रोपाईं हुन्छ । असार पहिलो साताबाट नै शुरु भएको मनसुनको कारण जिल्लामा असार शुरु देखि नै रोपाई शुरु भएको थियो ।
नवलपुरको खेति योग्य जमिन मध्ये १९ हजार आठ सय ९९ हेक्टर क्षेत्रफलमा सहज सिचाई सुविधा उपलब्ध छ भने सात हजार चार सय ६२ हेक्टर जमिनमा खेतिको लागि वर्षेपानीको भर पर्नु पर्छ । नवलपुरको खेति योग्य जमिन मध्ये २० हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा यस वर्ष धान खेती हुने कृषि ज्ञान केन्द्र नवलपुरको अनुमान छ । यो क्षेत्रफल गत वर्ष भन्दा दुई सय दश हेक्टर कम हो । तरकारी खेती तर्फ कृषकको आकर्षण, जग्गाको प्लटिङ लगायतको कारण यस वर्ष केही कम क्षेत्रफलमा धान खेति हुन लागेको पौडेलले बताए ।
यस वर्ष नवलपुरमा ८१ हजार पाँच सय ७० मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी पौडेलले बताउनुभयो । गत वर्ष नवलपुरमा ८४ हजार ९ सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो ।
असार पहिलो साता देखि नै आएको बाढी तथा पहिरोको कारण धान लगाएको खेत कटान, डुवान तथा धान लगाउने क्षेत्रफलमा आएको कमिको कारण यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको पौडेलले बताए ।
यस वर्ष कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका र बौदीकाली गाउँपालिकाको विभिन्न क्षेत्रमा खेत कटान तथा डुवान भएको छ । हाल सम्म प्राप्त तथ्यांक अनुसार कावासोती नगरपालिकामा ७६ हेक्टर क्षेत्रफलमा लगाएको धान बाढिले डुवाएको छ । विनयी त्रिवेणी गाउँपालिकामा २६ हेक्टर र बौदीकाली गाउँपालिकामा २ हेक्टर क्षेफलमा लगाएको धानमा क्षति पुगेको पौडेलले बताए । जिल्लाको अन्य स्थानबाट तथ्यांक संकलनको काम भइरहेको उनले जानकारी दिए ।
नवलपुरमा सबै भन्दा बढी कावासोती नगरपालिकामा धान खेति हुने गरेको छ ।
