ठेकेदारको लापरबाहीले सडक नबन्दा सदरमुकामवासीलाई सास्ती





हरि शर्मा –
परासी, ११ साउन । ४ वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको जिल्ला सदरुमकाम परासीको सडक अझै बन्न सकेको छैन । झरहीखोलादेखि बुद्धचोकसम्मको सडक बन्न नसक्दा स्थानीयहरु धुँलो र हिलाम्मेबाट सास्ती खेप्नु परेको छ ।

संघीय सरकारको बजेटमा उक्त सडक बनाउन ४ वर्षअघि ठेक्का आव्हानसमेत गरी सकिएको छ । ठेक्का आव्हान भइसकेकाले नगरपालिकाले समेत बजेट छुट्टाउन नमिल्ने भएकाले सडक अहिलेसम्म अलपत्र छ । जसका कारण स्थानीयहरुले सास्ती व्यहोर्नु परेको हो । सडक बनाउनका लागि वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्दासमेत सुनुवाई नभएको भन्दै स्थानीयहरु जनप्रतिनिधिहरुसँग आक्रोशित छन् ।




सडक नबन्दा सदरमुकामकै सौन्दर्य कुरुपहुँदै गएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । ‘ संघीय सरकारको बजेटले सडक निर्माणको ठेक्का निकालिएको छ । स्थानीय तहहले बजेट छुट्टाउन मिलेन । यो ठेक्का रद्ध हुने बित्तिकै तत्काल नगरपालिकाले आफ्नै लगानीमा काम सुरु गर्छ ।’ नगर प्रमुख गुप्ताले भने । लामो समयसम्म बितिसक्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने नगर प्रमुख गुप्ताले माग गरे ।

भैरहवा–भूमही सडक खण्डको वाइपास रोडदेखि सदरमुकाम जोड्ने यो प्रमुख सडक हो । नगरपालिकासँग जोडिने यो सडकमा सवारी चाप अधिक हुने गरेको छ । चापका कारण अत्याधिक धुँलो भएपछि सवारीसाधनहरु दिउँसै लाइट बालेर हिड्नु पर्ने अवस्था छ ।

सडक धुलाम्मे भएका कारण पसलहरु बन्द गर्नु परेको व्यवसायी अनिस अग्रहरीले बताए । धुँलोका कारण पसल व्यवसायलाई मात्र नभई स्वास्थ्यमा समेत प्रतिकुल असर पुगेको अर्का स्थानीय श्यामराज कालिकोटाले बताए ।

सडक निर्माणका लागि आ.व. २०७३/७४ मा सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले ठेक्का आव्हान गरेको थियो । जसअनुसार निर्माण कार्यको जिम्मेवारी पाएको गौरी पार्वती निर्माण सेवा सामाखुसी काठमाण्डौंले अहिलेसम्म सडक बनाउने कार्य सुरुवात समेत गरेको छैन् ।

२ पटकसम्म म्याद थप गर्दासमेत सडक नबनेपछि असार १५ गते ठेक्का तोड्नका लागि सूचना निकालेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । ‘सडक निर्माणमा व्यवसायीले चरम लापारबारही नै गरेको हो । साउनको दोस्रो सातादेखि काम सुरु गरेर ४ महिनाभित्र सम्पन्न गर्छौं भनेर लिखित प्रतिबद्धता आएको छ ।’ अर्यालले भने ।

नयाँ प्रकृयामा जाँदा समय लाग्ने भएकाले निर्माण व्यवसायीले दिएको उक्त अवधि पनि हेर्ने मनशायमा रहेको इन्जिनियर अर्यालले बताए ।

झरहीखोलादेखि बुद्धचोकहुँदै मञ्जरिया जोड्ने सडक र पोखरापालीसम्मको सडक, नाली र फुटपाथ निर्माणका लागि निर्माण कम्पनीले १६ करोड ९४ लाखमा ठेक्का लिएको हो ।




सम्बन्धित
Loading...