जसपामायादव पक्षको बहुमत





काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका हुन् भने पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन् । हाल जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसे।




जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ ।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताए ।
उनका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्‍याउनसक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ । जसपा विभाजन नभई जसपामा आउन नचाहने नेताहरुले नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ । यद्यपि आयोगले पार्टी आधिकारिकताको निर्णय सुनाइसकेको छैन ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।

जसपा सरकारका जान्छः यादव

निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

उनले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताएका हुन् । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताए ।

जसपाको विवादमा रेशम चौधरी तटस्थ बसे

जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । जसपा विवादमा सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनी सनाखतमा तटस्थ बसेका हुन्।

चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको बताए। ‘आज जेलबाट निर्वाचन आयोग आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन,’ उनले भने । आँफू कुनै पक्षमा पनि नभएको र जसपाको एउटा कार्यकर्ता भएको उल्लेख गरे। चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे।




सम्बन्धित
Loading...