बैतडीको निषेधाज्ञा लम्बियो
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो
। यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो । आजदेखि लागू हुने गरी सातौँ पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधिमा स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ । निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।