स्रोत नखुलेको भारुसहित ३२ लाख ९० हजार बरामद




हरि शर्मा –
परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलियाबाट प्रहरीले सोमबार स्रोत नखुलेको ३२ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ । रकमसँगै एक भारतीय नागरिक र अर्का नेपाली नागरिकसमेत पक्राउ परेका छन् ।

बरामद भएको रकममा ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।




पक्राउ पर्नेमा भारत महाराजगञ्ज ठूठीबारी ग्राम पञ्चायत मर्चवारका २७ वर्षीय समिर खान र पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षिय योगेन्द्र यादव रहेका छन् । नेपाली नम्बर प्लेटको मोटरसाइकलमा जाँदै गरेका उनीहरुले बोकेको झोलाबाट रकम बरामद भएको डिएसपी लामाले जानकारी दिए ।

बरामद भएका भारतीय रुपैयाँमा २ हजार र ५ सयका नोट छन् । भने नेपाली रुपैयाँमा १ हजार र ५ सयका नोट छन् । पक्राउ परेकाहरुले आफूहरुले उक्त रकम ठूठीबारीस्थित जयसवाल वस्त्रायका साहुले बर्दघाट छाड्न पठाएको बताएका छन् ।

उक्त रकम के प्रयोजनका लागि पठाइएको भन्नेबारे जानकारी नभएको पक्राउ परेकाले बताएका छन् । यद्यपी नेपालमा भारतीय नोटको लेनदेन गर्ने कारोबारीलाई रकम दिने उद्देश्यले ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।

उनीहरुले ल्याएको नेपाली रुपैयाँ र भारतीय रुपैयाँ दिएबापन पाउने नेपाली रुपैयाँ भने भारतमा निकाल्न मिल्ने गरी नेपाली बैंकमा जम्मा गर्न पठाएको हुन सक्ने आंशका समेत गरिएको छ ।

सीमावर्ती बजारहरुमा अहिले भारतीय रुपैयाँको कारोबार बढेकाले नेपाली बजारमा भारतबाट अवैध रुपमा रकम पठाउने गरेको बताइएको छ ।

भारतीय रुपैयाँ सटही गर्दा कारोबारीहरुले उपभोक्तासँग प्रति सयकडा ५ रुपैयाँ बट्टा काटेर दिने गरेको एक कारोबारीले बताएका छन् । बरामद भएका रकम स्रोत नखुलेकोले आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पठाइने प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...