विद्यालयको ३२ वटा कम्प्युटर चोरी


धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ।

जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ।

विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रहरीका अनुसार चोरले एउटा प्रिन्टर र प्रोजेक्टर समेत कक्षाकोठाको ढोका फोडेर लगेका छन्। दुई वर्षअघि विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन भन्दै आफन्त नेपालले १६ वटा कम्प्युटर प्रदान गरेको थियो।

त्यसैगरी पछि अन्य दुइटा संस्थाले थप १६ वटा कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक राजकुमार राउतले बताए।

उनका अनुसार मंगलबार बिहान १० बजे शिक्षकहरू पुगेपछि कम्प्युटर चोरी भएको थाहा पाएका थिए। कक्षा ६,७ र ८ का विद्यार्थीहरूलाई कम्प्युटर कक्षा दिने गरिएको थियो।

थप अनुसन्धान गर्न आफू लगायतका प्रहरी टोली घटनास्थल प्रस्थान गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए।

 







सम्बन्धित
Loading...