एमसीसीको विरुद्ध बर्दघाटमा वैद्य माओवादीको प्रदर्शन
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रघात – जनघात–महङगी र भष्ट्राचारको बिरुद्धमा प्रर्दशन गरिएको छ ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताको बिरुद्ध तथा बढ्दो महंगी र भष्ट्रचारको बिरोधमा मंगलवार बैद्य माओवादीको अगुवाईमा प्रर्दशन गरिएको हो ।
मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रियता जनतन्त्र र जनजिविका पक्षमा नागरिक आन्दोलन आवश्यक भएको बताए ।
दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अमेरिकी सैन्य कार्यक्रम रहेको भन्दै बैद्य माओवादीले बिरोध कार्यक्रम गरेको हो ।
प्रर्दशनकारीले एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, भारतीय हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, जयसिंह धामीको हत्यारालाई कारवाही गर जस्ता नारा लगाउदै बर्दघाटको मुख्यबजार क्षेत्र परिक्रमा गरेर पुरानो चौकी नजिक कोणसभा गरेका थिए । प्लेकार्ड सहित उत्रिएका प्रर्दशनकारीले स्थानीय रुपमा भुमाफियाले सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै भुमाफिया मुर्दावाद, सार्वजनिक जग्गा संरक्षण गर जस्ता नारावाजी गरेका थिए ।
सभामा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनीप्रदेश ईञ्चार्ज प्रेम सुवेदीले संसदीय ब्यवस्थाले राष्ट्रघात जनघात गर्दै अगाडि बढेकोले सच्चा देशभक्तहरु एकीकृत हुनुपर्ने बताए ।
उनले दुई सय प्रतिशत सम्म महंगी बृद्धि भएको बताउदै भष्ट्रचार नभएको निकाय पाउनै गाह्रो भएको बताए ।
सोही पार्टीका अर्का पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव भुपेन्द्र न्यौपानेले भारतीय विस्तारवादको ज्यादती र अमेरिकी साम्राज्यवादले ल्याएको एमसीसी बिरुद्ध लडनका लागि दुवै मिसन बुझ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय स्वाधीनताका लागि नागरिक आन्दोलनका अध्यक्ष तथा अधिबक्ता पदम कार्कीले एमसीसी इन्डो प्यासिफिक सैन्य रणनीति अन्तरगत रहेको उल्लेख गर्दै राष्ट्र बचाउन सबै नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश संयोजक क्षत्रबहादु्र थापाले हरेक क्षेत्रमा माफियाकरण भएको उल्लेख गर्दै बिकृति बिसंगतिका बिरुद्ध सचेत नागरिक आन्दोलन आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले पार्टीले स्थानीय रुपमा समेत जनताको मुद्धा उठाउदै आएको जानकारी दिए । उनले जिल्लामा ब्याप्त बिकृति बिसंगतिका बिरुद्ध पार्टीले जनतासंग सहकार्य गर्दै अगाडि बढेको बताए।
त्यस्तै क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर ईञ्चार्ज चुडामणी भण्डारीले ढुंगा गिटी बालुवा लगायत नदीजन्य पद्धार्थ दोहनहुदैं आएको बताउदै वन वातावरणको क्षेत्रमा समेत पाटीले अग्रसरता लिने उल्लेख गरे ।
कार्यक्रममा क्रान्तिकारी माओवादी रुपन्देहीका सेक्रेटरी बिनोद मरासिनी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेय, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका प्रदेश संयोजक राजु भुजेल, अखिल क्रान्तिकारीमा मनोज थापा लगायतको आतिथ्यता रहेको थियो ।


