नवलपुरको विकासका लागि नवलपुरका ७ दलले बनाए साझा अवधारणा


रामकुमार श्रेष्ठ –



नवलपुर, २० साउन । पूर्वी नवलपरासीमा रहेका ७ दलले नवलपुर जिल्लाको विकासका लागि साझा अवधारणा तयार पारेर सार्वजनिक गरेको छ ।

बुधबार नेकपा माओवादी केन्द्र नवलपुरको पार्टी कार्यालय कावासोतीमा पत्रकार सम्मेलन गरेर उनीहरुले साझा अवधारणा सार्वजनिक गरेको हो ।




नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा धारणा बनाएका हो ।

संयुक्त अवधारणा गण्डकी प्रदेशका मुख्यमन्त्री देखि संघीय सरकारका प्रधानमन्त्री सम्मलाई बुझाउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा विहानीले बताए ।

७ दलले नमुना सदरमुकामको डिपिआरको अध्ययन र सम्बन्धित निकाययमा काम अघिको बढाउनका लागि पहल गर्ने, जिल्ला स्तरीय खेलकुद रंगशाला निर्माणको लागि माग गर्नेदेखि जिल्लामा डोमेस्टिक एयर पोर्ट निर्माणको लागि माग गर्ने लगायतका १३ बुदे अवधारणा रहेको छ ।

जसअन्तरगत नारायणी तट्बन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार र वालनिर्माण, पिस पार्कको समग्र प्रोजेन्टको लागि माग गर्ने, मौलाकालिका देखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणको लागि माग गर्ने रहेका छन् ।

त्यसैगरी चुरे महाभारतबाट उत्पत्ति भई नारायणी नदीमा जोडिने ठाडा खोलाहरुको तटबन्ध गर्न माग गर्ने, साथै उक्त खोलाहरुमा प्राप्त हुने नदीजन्य स्रोतहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुसँग छलफल र ध्यानाकर्षण गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित कृषि उद्योगको माग गर्ने, पूर्वपश्चिम राजमार्गको मध्यविन्दुमा पार्क निर्माण, त्रिवेणी दुम्किबास झ्यालबास हुँदै पोखरा र उत्तरी नाका कोरला जोड्ने प्रदेश स्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन माग गर्ने साझा अवधारणा बनाएका छन् ।

त्यसैगरी भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालनका लागि ध्यानाकर्षण गराउने, जिल्लामा प्राविधिक विश्व विद्यालय निर्माणको लागि माग गर्ने लगायतका रहेका छन् ।
पत्रकार सम्मेलनमा सातै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...