आयोग नै खारेज भएपछि रोकियो जग्गा नापजाँच


चितवन २० साउन । खैरहनीमा सुकुम्बासीको जग्गा नापजाँच रोकिएको छ। सरकारले बिहीबार भूमिसम्बन्धी समस्या सामाधान आयोग खारेज गर्ने निर्णय गरेपछि सो नगरपालिकामा जग्गा नापजाँच रोकिएको हो। खैरहनीमा यही सोमबारदेखि वडा नं १ मा रहेको सुन्दरबस्तीबाट जग्गा नापजाँच सुरु गरिएको थियो।




मेयर लालमणि चौधरीले आयोग खारेज भएपछि नापजाँच तत्कालका लागि रोकिएको जानकारी दिए। ‘केन्द्रीय आयोगबाट सर्कुलर आउला,’ उनले भने, ‘अहिले भने रोकिएको जस्तै हो।’ खैरहनीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क अध्यावधि गरेर उत्साहाका साथ जग्गा नापजाँच सुरु गरिएको थियो।


सरकारले आयोग विघटन गरेर लालपूर्जा पाउने सुकुमबासीको सपनामाथि खेलवाड गर्नु गलत भएको मेयर चौधरीको भनाइ छ। खैरहनीमा भूमिहीन दलित १७१, भूमिहीन सुकुम्बासी ८६५ र अव्यवस्थित २ हजार २२८ गरी कुल ३ हजार २६४ घरधुरीले लालपूर्जाको लागि फारम भरेका थिए।

चितवनका सातवटा पालिकामा ३९ हजार ५९७ घरधुरीले फारम भरेका छन्। भरतपुर महानगरपालिकामा १० हजार ३३३, रत्ननगर नगरपालिकामा २ हजार ३९८, राप्ती नगरपालिकामा ९ हजार २७, कालिका नगरपालिकामा ५ हजार ९००, माडी नगरपालिकामा ५ हजार ४५६, इच्छाकामना गाउँपालिकामा ३ हजार १५० घरधुरीले लालपूर्जाको लागि फरम भरेका थिए।




सम्बन्धित
Loading...