प्रहरी जवानको परीक्षाहलबाट नक्कली विद्यार्थीसहित ६ जना पक्राउ
मोरङ– मोरङमा प्रहरी जवान पदको परीक्षामा परीक्षा दिईरहेका ४ जना नक्कलि विद्यार्थीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ नम्बर प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षाहलबाट चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।
चार जनासहित परीक्षार्थीलाई पास गराइदिने बहानामा पैसाको कारोबार गरेको आरोपमा दुई जना बिचौलिया पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा भोजपुर पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, ९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई छन्।
पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको एसपी जिसीले बताए ।