होटेलमा सँगै गएकी युवतीको अचानक निधन भएपछि युवक फरार, घटना शंकास्पद प्रहरी
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ त्रिवेणीको होटेल शाही प्यालेसमा आफूसँगै गएकी युवतीको अचानक निधन भएपछि युवक फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ शान्ति टोल निवासी करिब १८ बर्षीय युवाक अजयराज भरले होटेल लगेकी युवतीको अचानक निधन भएपछि उनी फरार भएका हुन् ।
प्रहरीले होटल मालिक ४५ बर्षीय भोजबहादुर थापा र युवक अजय राजभरका काका २८ बर्षीय ब्यासप्रसाद भर र उनले प्रयोग गरेको लु ४ प ८१७६ नम्बरको होण्डा साईन मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार ति युवकले युवतीलाई साँझ ६ बजे होटेल पुर्याएकोमा साढे ६ बजे अचानक विरामी भएपछि अटोमा बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पतालमा राति ८ बजे पुर्याएका थिए । अस्पतालमा पुग्ना साथ अस्पतालका स्वास्थ्य कर्मीले ति युवतीलाई मृत घोषणा गरेका थिए ।
अन्दाजी १७ बर्षीय युवतीको प्रहरीले पहिचान खुलाएको छैन । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा युवतीलाई अत्यधिक रक्तश्राव भएपछि निधन भएको पाइएको छ । प्रहरी नायव उपरीक्षक गिरीले घटना शंकापद रहेको र किशोरीको निधन पनि शंकास्पद देखिएकोले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए ।
किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल जिल्ला अस्पताल परासीमा राखिएको छ ।
