लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी नियुक्त
बुटवल-लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्।
प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरे।
प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गरेका थिए।
सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।
केसी रोल्पा १ (क)बाट निर्वाचित सांसद हुन्। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।
