नेतृत्व हस्तान्तरण नभए पार्टी विघटन हुन्छ: राप्रपा नेता लिङ्गदेङ्ग
नवलपुर । राप्रपाका नेता तथा संघीय सांसद राजेन्द्र लिङ्गदेङ्गले राप्रपामा अब नेतृत्वमा पुस्ता हस्तान्तरण हुनु पर्नेमा जोड दिएका छन् ।
विहीबार पूर्वी नवलपरासीको कावासोतीमा राप्रपाका कार्यकर्ताहरुसँगको भेटघाट पछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफू नयाँ नेतृत्व लिन तयार रहेको बताए तर, उनले आफू नै नेतृत्वमा पुग्नु पर्छ भन्ने पक्षमा नरहेको समेत बताए ।
राप्रपा अध्यक्ष कमल थापाले अध्यक्ष पद नछाड्ने भने थापा सुधिनु पर्नेमा उनको जोड थियो । उनले अध्यक्ष कमल थापाले खोल्टीबाट केन्द्रिय सदस्य पद वितरण गर्ने, एउटै मान्छेलाई १०–२० बर्षसम्म संगठनहरुको अध्यक्ष बनाइरहने थापाको प्रवृत्तिको विरोध समेत गरेका थिए ।
उनले राप्रपाको अबको महाधिवेशनबाट नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण नगरे पार्टी सिद्धिने सम्मको चेतावनी दिए ।
त्यसैगरी उनले राजतन्त्र, हिन्दु राष्ट्र नेपालबाट हट्नुमा विदेशी शक्तिको चलखेल भएको आरोप लगाउँदै राजसंस्था हटेपछि नेपालमा सिक्किमीकरण बढ्ने सम्भवना रहेको बताउँदै नेपाल जोगाउन राजसंस्था अपरिहार्य रहेको बताए ।
त्यसैगरी कार्यकर्ता भेटघाट कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख धवल सम्शेर राणा, हेमजंग गुरुङ, विन्दु पहाडी लगायतले बोलेका थिए ।
राप्रपाका कार्यकर्ता बलराम थापाको १३ औं दिनको स्मृतिको आयोजित शोक कार्यक्रममा सहभागी हुन लिङ्गदेङ्ग सहितका नेता कावासोती आएका थिए ।
केही दिन अघि राप्रपा अध्यक्ष कमल थापा पनि शोक सभामा आएका थिए ।

