देउवा सरकार बैशाखसम्म मात्रैः पूर्वमन्त्री त्रिपाठी
हरि शर्मा –
परासी, २८ साउन । पूर्वमन्त्री एंव प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले देउवा सरकार बैशाखसम्मको रहेको दाबी गरेका छन् ।
गृह जिल्ला पश्चिम नवलपरासीको परासीमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसको महाधिवेशन लगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको दाबी गरेका हुन् ।
‘सरकारमा धेरै समय बसे अलोकप्रिय हुने कुरा देउवाले राम्रोसँग बुझेका छन् । त्यही भएर कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा छन् त्यो जानकारी मैले पाएको छु ।’ त्रिपाठीले भने ।
सरकार चलाउन कति गाह्रो कुरा रहेछ भन्ने कुरा सरकारको पूर्णताले देखाइ सकेको बताउँदै त्रिपाठीले अहिल्य नै सरकारको टिप्पणी गर्ने समय नआएको उनले बताए । ‘१ सय दिन हनिमुनको समय हो । त्यति समय पर्खौ त्यसपछि टिप्पणी गरौला ।’ उनले भने । संघदेखि प्रदेशसम्मको सरकार परिवर्तनले प्रदेश नै भंग हुने अवस्थामा गइरहेको त होइन भन्ने संकेत आफूले पाएको त्रिपाठीको भनाई छ । देशको राजनीतिक अदालतको परिसरमा जानुले दलका नेताहरुको हातबाट राजनीति बाहिर गएको प्रष्ट भएको उनको भनाई छ ।
दल दर्ता गर्नु चिया पसलमा बसेर गफ गरेको जस्तो नभएको भन्दै उनले छिट्ट नै आफ्नो ‘स्वतन्त्र राजनीतिक समूह’लाई नयाँ दलका रुपमा दर्ता गर्ने त्रिपाठीले दोह्राए ।
