राष्ट्रिय परिचय पत्र अभियानसँगै पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड




हरि शर्मा –
परासी, २९ साउन । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ । जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो ।

परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बताए । जिल्लाका स्थानीय तहहरुमा टोली पठाएर राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु गरिएको छ । जसअनुसार बर्दघाट नगरपालिकाबाट विवरण संकलन कार्य सुरु छ ।




नयाँ नागरिकतासँगै पुराना, झुत्रा भएका, फोटो मेटिएकालगायतका प्रतिलिपि लिनेहरु पनि आएका कारण भिड बढेको हो । ‘नागरिकतामा भरिएको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँ भन्दा पनि प्रतिलिपि लिन आउको संख्या बढी छ । ’ माझीले भने । हरेक दिन २ सय बढी नागरिकता बनाउन आउने गरेका छन् । भिड बढेपछि हरेक पालिकालाई बारका आधारमा छुट्टाइएकार नागरिकता वितरणको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

साउन १ देखि सुरु भएको यो अभियान अन्तरगत हरेक वडामा १ देखि ६ वटा टोलीहरुले विवरण संकलन गरिरहेका छन् । विवरण संकलन गर्न जिल्लामा ४२ वटा टोलीहरु खटाइएका छन् ।

 

सरकारी तथा निजी क्षेत्रसहित अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधा र सम्पूर्ण कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यो अभियान सुरु गरेको हो ।

 

 

 



सम्बन्धित
Loading...