डिआइजीमाथि बारम्बार किन खनिए कांग्रेस नेता कँडेल ?
नवलपरासी, ३१ साउन । लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) मुकुन्दराज आचार्यमाथि नेपाली कांग्रेसका नेता एंव सांसद देबेन्द्रराज कँडेलले गम्भिर आरोप लगाएपछि यसको चर्चा जिल्लादेखि प्रदेश स्तरसम्म हुन थालेको छ । कँडेल नवलपरासीबाट निर्वाचित प्रतिनिधि सभा सांसद् हुन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कँडेलले डिआइजी आचार्यलाई प्रहरी इन्स्पेक्टरको सवारी दुर्घटनामा भएको मृत्यु घटनामा संलग्नदेखि आर्थिक लेनदेनमा तस्करी गराएको आरोपसमेतमा मुछेका छन् । मृत्यु घटना र आर्थिक लेनदेनको आरोप कँडेलले फरक÷फरक दिनमा चलेको संसद बैठकमै लगाएका हुन् ।
डिआइजीमाथि आरोप लगाएपछि गृहमन्त्रालयले गठन गरेको छानविन समितिले शनिबारदेखि जिल्ला आएर छानविन सुरु गरेको छ । आरोपहरुमध्ये पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्स्पेक्टर कपिल वाग्लेको सवारी दुर्घटनाको मृत्यु घटना छानविन गर्न मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।
https://www.youtube.com/watch?v=wp94g_fMWV4&t=35s
डिआइजी आचार्य पश्चिम नवलपरासीमा एसपी भएर आएदेखि नै साँसद् कँडेलसँग राम्रो सम्बन्ध नभएका कारण त्यसैको रिसमा आरोप लगाएको प्रहरी स्रोतले दाबी गरेको छ । २०७४ साउनमा एसपी भएर आएका आचार्य १० महिनापछि बढुवा भएर गएका थिए ।
आचार्य एसपी हुँदा नेता कँडेलले प्रहरी कार्यालयमा आउने कार्यकर्ताका मुद्दा मामिला मिलाउन दबाब दिने गरेका थिए । तर आचार्यले नमानेका कारण बारम्बार दुई जनाबीच चर्काचर्की समेत हुने गरेको प्रहरी स्रोतको भनाई छ । आफूले भनेको नमानेपछि त्यसबेला आचार्य र कँडेलबीच तँ तँ, म म नै भएको बताइएको छ । सोही समयदेखि दुई जनाबीच सम्बन्ध बिग्रिएको र प्रतिसोधमा बारम्बार खनिएको प्रहरी स्रोतको भनाई छ । स्रोतका अनुसार त्यसबेला आचार्यविरुद्ध कँडेल आफैंले पनि ३ वटा उजुरी गृहमन्त्रालयमा समेत दिएका थिए । कँडेल पूर्वगृहराज्यमन्त्री समेत हुन् ।
डिआइजी आचार्यसँग सम्बन्ध राम्रो नभएका कारण खनिनु भयो भन्ने आरोप छ नि भन्ने प्रश्नमा साँसद कँडेलले भने ‘हेर्नुस सम्बन्ध राम्रो÷नराम्रोसँग कुनै सरोकार छैन । प्रहरीले राम्रो काम पनि त गर्नु प¥यो नी । ’ नराम्रो गर्नेमाथि प्रश्न उठ्नु स्वभाविक भएकोले डिआइजीको पछिल्लो काम प्रति छानविन गरी कारबाहीको माग गरेको कँडेलले बताए ।‘म सँग सम्बन्ध राम्रो नभएको भए किन यो प्रदेशमा आउनु अन्यन्त्र गएको भए भइहाल्थ्यो नि ।’ कँडेलले भने ।
आचार्य प्रदेश प्रमुख भएर लुम्बिनी प्रदेशमा पुगेपछि कँडेलले साउन १९को सदनमा नवलपरासीको सीमा क्षेत्रमा भइरहेको केराउ तस्करीमा उनकै संलग्नता भएको र ५० लाखको लेनदेनमा तस्करी गराएको आरोप लगाएका थिए । तस्करीको आरोप लगाएका कँडेलले सदनमै आचार्यलाई छानविन गरी कारबाहीको माग गरेका थिए । त्यसपछिको अर्को सदनमा पुनः कँडेलले बर्दघाटमा भएको इन्स्पेक्टर वाग्लेको सवारी दुर्घटनाबाट भएको मृत्यु घटनामा समेत आचार्यलाई मुछेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटले १० दिनअघि करिब १ करोड बराबरको मोबाइल र गाडी पक्राउ गरेको थियो । पैसाको लेनदेनपछि बर्दघाट प्रहरीले छाडेको उक्त गाडी र मोबाइल गण्डकी प्रदेशमा पर्ने इलाका प्रहरी कार्यालय दुम्किवासले पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो ।
मोबाइल काण्डमा छानविन भएपछि एक प्रहरी जवान र मृतक इन्स्पेकटर वाग्ले निलम्बनमा परेका थिए । डिआइजी आचार्यकै मिलमतोमा १३ लाखको लेनदेन भएको र घटनाको रहस्य बाहिर आएपछि मृतक इन्स्पेक्टर वाग्लेलाई मानसिक तनाव दिएकाले दुर्घटनामा मृत्यु भएको कँडेलले आरोप लगाएका छन् । डिआइजी आचार्यले दिएको तनावका कारण विछिप्त भएका वाग्ले बाटोमा हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु भएको कँडेलको आरोप छ । सांसद् कँडेलले डिआइजीमाथि मुलुकी अपराध र भ्रष्टचार सम्बन्धी मुद्दा चलाउन सदनमा माग गरेका छन् ।
एउटै दल र गुटको भएपनि आन्तरिक रुपमा गृहमन्त्री बालकृष्ण खाँड र कँडेलबीच राम्रो सम्बन्ध नरहेको केही कांग्रेस नेताहरु बताउँछन् । गृहमन्त्रीले कुरा नसुन्ने भएपछि कँडेलले तस्करीको विषयलाई जोडेर डिआइजीको सरुवा र कारबाहीका लागि सदनमा बोलेको उनीहरुको आरोप छ ।
डिआइजी आचार्यमाथि छानविन गर्न गृहमन्त्रीलाई टेलिफोन मार्फत जानकारी गराएपनि वास्ता नगरेको स्वंय कँडेलले सदनमा भनेका छन् । सोही कारण पनि गृहमन्त्री र कँडेलबीचको सम्बन्ध राम्रो नरहेको प्रष्ट बुझ्न सकिने कांग्रेस नेताको तर्क छ । मृत्यु घटनासम्बन्धी गठन गरिएको छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
