नेवार समुदायमा क्वाँटी खाएर ‘गुन्हुपुन्ही’ मनाइँदै
–लक्ष्मी गारु
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ छ । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरि गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन छ ।
यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको बताइएको छ । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरि गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । रोपाइँ र धानखेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।
“खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसम अनुसारको चाडपर्व मनाउने र सोही अनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उनले भने । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ ।
नेवार समुदायले भने पञ्चतत्वसहितको डोरो बाँध्ने प्रचलन छ । यसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशत क्षेत्री, बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए ।
भ्यागुताको पूजा गरी भोजन खुवाउँदै
गुन्हुपुन्हीका अवसरमा आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको पूजा गरी भात र क्वाँटी खुवाउँदैछन् । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषक प्राकृतिक देवताका रूपमा भ्यागुतोलाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु किरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत–खेतमा गई किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्राडा श्रेष्ठ बताउँछन् । यसलाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भनिन्छ ।
“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उनले भने । रोपाइँका समयमा कृषकले आ–आफ्नो खेत खन्दा मरेका किरा, फट्याङ्ग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पापमोचन गर्नका लागि पनि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको उनको भनाइ छ
भक्तपुरका विभिन्न कुण्डमा मेला
यसै अवसरमा जिल्लाका विभिन्न गुण्डमा मेला लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि भक्तजनले स्नान गरिरहेका छन् ।
गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरूको विशेष मेला लाग्दछ । आजको दिन परम्परागत वेषभूषामा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको बताइएको छ । आज कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिए ।
लोक कथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छट्पटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासका आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । उनले भने, “गोसाइँकुण्ड जान नसक्ने भक्तजनले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरेसरह नै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”
त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह) मा पनि बिहानैदेखि भक्तजनले स्नान गरिरहेका छन् । सो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।
आजको दिन कालदहमा स्नान गरी महादेवको पूजा अर्चना गरे सुख, शान्ति र पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यतासमेत रहेको छ । स्नानपछि भक्तजनहरू जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । – रासस
क्वाँटी खानु भयो ? यस्ता छन् क्वाँटी खानुका फाइदाहरु
जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन चलिआएकाे छ। क्वाँटी भन्ने वित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । क्वाँटीमा मास, भटमास, चना, मुगी, मस्याङ, ठुलो केराउ, ठुलो सिमि, सानो केराउ समावेश गरिन्छ । क्वाँटीमा शक्ति र श्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । स्वास्थ्य रहनका निम्ति मानिसको शरीरलाई पर्याप्त मात्रामा भिटामिन, खनिज तत्व, प्रोटिन,कार्बोहाइडे्रट लगायत पदार्थ आवश्यक हुन्छ। क्वाँटिको टुसा वा भ्रुणमा अत्यधिक प्रोटिन भएकोले यसको सेवन गर्नु हाम्रो स्वस्थको लागि धेरै नै फलदायी हुन्छ।
प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । हाल कोरोनाले महामारीको रुप लिएको छ।प्रोटिनले शरीरमा रोग सङ लड्ने शक्ति प्रदान गर्दछ। शरीरमा प्रोटिनको कमी भएमा इम्युन सिस्टम कमजोर हुने,हातखुट्टा सुन्निने,कपाल झर्ने,मांसपेशी कमजोर हुने,अनियमित महिनावारी जस्तो जटिल समस्या देखा पर्न जान्छ।
नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो। क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।
क्वाँटी खानुका यस्ता छन् फाइदाहरू
-कब्जियतको समस्या हटाउँछ ।
-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
-पेटमा अनावश्यक वायु बनाउँदैन ।
-क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
-रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
-पाचनशक्तिमा सुधार ल्याउँछ।
-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।।
