१० केजी चरेससहित भारतीय नागरिक पक्राउ

हरि शर्मा-
परासी, १० भदौ १० किलो लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पश्चिम नवलपरासी प्रहरीले बिहीबार पक्राउ गरेको छ । नवलपरासीको सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा प्रतापपुर–४ स्थित बर्दघाटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला थाना बर्गदवा, ग्रामपञ्चायत भगतपुरा बस्ने ३७ वर्षिय राजेश यादव छन् । बाटोमा हिड्दै गरेको अवस्थामा यादवलाई शंका लागि चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको लामाले जानकारी दिए । इट्टा आकारको २६ वटा प्याकेट बनाएर पत्रिकाले बेरेको अवस्थामा यादवको झोलाबाट चरेस बरामद गरिएको लामाले बताए ।
आफूलाई भारतकै एक व्यक्तिले बर्दघाटे गाउँ पठाएको र त्यहाँ रहेका एक व्यक्तिले झोला दिएको यादवले बयान दिएका छन् । झोला दिने व्यक्तिले धार्दिङ घर बताएको र उनी चढेको कारको नम्बर भने आफूलाई जानकारी नभएको यादवको बयान छ । यादवलाई लागूऔषध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।