सेवाग्राहीलाई अनिवार्य एन्टिजेन परीक्षण
हरि शर्मा –
परासी, ९ भदौ। पश्चिम नवलपरासीका सरकारी कार्यालयमा आउने सेवाग्राहीका लागि एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ ।
जिल्लाभर अभियानकै रुपमा सञ्चालन गरिन लागेको एन्टिजेन परीक्षण बुधबारबाट जिल्ला प्रशासन, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाबाट सुरु गरिएको छ । एन्टिजेन परीक्षणको व्यवस्था स्वास्थ्य कार्यालयले गरेको छ । एन्टिजेन परीक्षणका लागि सम्बन्धित कार्यालयको मुलगेटमा व्यवस्था गरिएको छ । १० मिनेटभित्र परीक्षणको रिपोर्ट दिने गरिएको छ । रिपोर्ट हेरेर कर्मचारीहरुले सेवा दिने गरेका छन् ।
कोभिड नियन्त्रणका लागि रणनीति तयार गर्न सहज हुने भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । ‘प्रयाप्त परीक्षण भएको छैन । त्यसले जिल्लामा कोभिडको जोखिम कति छ भनेर यकिन गर्न समस्या भएकाले अभियान सुरु गरिएको हो । ’प्रजिअ मिश्रले भने । अभियान अन्तरगत सबै पालिका र भिडभाड हुने मालपोत, नापीलगायतका कार्यालयमा पनि क्रमशः सुरु गरिने उनले बताए ।
बुधबार कुल ४ सय १८ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।
हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ३ जना छ । एन्टिजेन परीक्षण अन्य समयमा पनि शंकास्पद व्यक्तिहरुमा गरिदैं आएको र त्यस क्रममा केहीमा पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख पोखरेलले बताए । एन्टिजेन किट प्रयाप्त रहेकोले परीक्षणमा समस्या नहुने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानको १०÷१५ दिनमा जिल्लामा कोभिडको अवस्थाको मोटोमोटी अवस्था बाहिर आउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
