लगातारको बर्षाले नवलपुरको जनजीवन प्रभावित, ठाउँठाउँमा डुबान, सडक ठाउँठाउँमा अवरुद्ध


नवलपुर । लगातारको बर्षातले नवलपुरको जनजीवन प्रभावित भएको छ ।



लगातारको बर्षातले कावासोती, गैडाकोट, देवचुली, प्रगतिनगर, चोरमारा, अरुणखोला, दुम्किबास लगायतका क्षेत्र जलमग्न भएको छ ।




लगाताको पूर्वपश्चिम राजमार्गको नवलपुरको गैडाकोट र दाउन्नेमा सडक अवरुद्ध भएको छ । त्यसैगरी ठाउँठाउँमा डुबान भएको छ ।

कावासोतीमा पानीको निकास नहुँदा डुबान भएको छ । त्यसैगरी कावासोतीको केरुङ्गे खोलामा आएको बाढीले कावासोती १ मा कटान गरेको छ । कावासोती ९ मा खेलकुद मैदान बगाएको छ ।

https://www.youtube.com/watch?v=_uFnrRQrjeQ

 

नवलपुर प्रहरीका अनुसार कावासोती ४ छिपछिपेमा केही घर डुबानमा परेको छ । त्यसैगरी कावासोती ४ शंखदेवमा रहेको पक्की पुल नजिकैको आधा बाटो केरुङ्गे खोलामा आएको बाढीले बगाएको छ ।

त्यस्तै कावासोती ११ लोकाहा खोला आसपासको क्षेत्र, कावासोती १५ को बागखोर, कावासोती १७ अमलटारी डुबानमा परेको छ भने गुद्रेही खोलामा पानीको सतह अत्यधिक बढेको छ ।

त्यसैगरी मध्यविन्दु १५ अरुणखोलाको क्षेत्र डुबानको जोखिममा परेको छ ।

पूर्वपश्चिम राजमार्ग दाउन्ने र गैडाकोटमा अवरुद्ध

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट र दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको बर्षातका गैडाकोट ९ तेइस स्मृति पुल, गैडाकोट ९ थुम्सी स्थित डाइभर्सन, गैडाकोट १० मा रहेको सशस्त्र वेश क्याम्प नजिकै रहेको डाइभर्सन र गैडाकोट ११ भेडाबारीमा रहेको डाइभर्सन बगाएको छ ।

जसले गर्दा पूर्वपश्चिम राजमार्ग गैडाकोटका ४ स्थानमा दुवैतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

त्यसैगरी बिनयी त्रिबेणी गाउँपालिका २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा माथिबाट पहिरो आई पूर्व पश्चिम राजमार्ग दुई तर्फी नै अवरुद्ध भएको छ ।

सडक गएराति देखि नै अवरुद्ध भएको हो । अवरुद्ध सकड खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । बाटो आज दिनभर खुल्ने सम्भावना नरहेको र भोलि विहान सम्म खुलाउने गरी प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

नवलपुरको हुप्सेकोटमा पहिरोले एक घर पुर्दा ३ जना वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा ३ जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीलाई पनि घाइते अवस्थामा उद्दार गरिएको छ ।

एकै घरका अन्य ३ जना महिला वेपत्ता रहेका छन् । घाइते पुलामीलाई हुप्सेकोट मावि रुम्सेमा राखिएको छ । उनका श्रीमती सहित ३ जना वेपत्ता भएका हुन् । प्रहरीका अनुसार हस्तबहादुरकी ४० बर्षीया श्रीमती धनमाया पुलामी, ७ बर्षीया नातिनि भुमीसरा पुलामी र ६ बर्षीया नातिनी देउमाया पुलामी गरी ३ जना पहिरोमा वेपत्ता भएका छन् ।

घटना स्थलमा प्रहरी पुगेका र उद्दार कार्य जारी रहेको मल्लले बताए । वेपत्ताको अझै खोजी भईरहेको र अझै स्थित पत्ता लगाउन नसकिएको नवलपुर प्रहरीले जनाएको छ ।

कावासोतीमा बाढीले झलुङ्गे पुल बगायो

कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गगोरसतीमा रहेको झलुङ्गे पुललाई स्थानीय पत्थर खोलामा आएको बाढीले बगाईदिएको छ । सो स्थानमा २ बर्ष पहिला निर्माण गरिएको झलुङ्गे पुल शुक्रबार बिहान आएको बाढीले बगाईदिएको हो ।
संघीय सरकारको आर्थिक सहयोगमा ४२ लाखमा निर्माण गरिएको सो झलुङ्गे पुल २ बर्ष पहिला निर्माण कार्य सकिएको थियो । हिमालयन सामुदायिक विकास मंच मार्फत संघीय सरकारको बजेटबाट सो पुल निर्माण भएको हो ।
झलुङ्गे पुल निर्माण भए संगै स्थानीयहरुलाई घाँस दाउरा गर्न नजिकैको जंगल क्षेत्रमा आवत जावत गर्न, डण्डा बजार आवत जावत सगै पुर्व पश्चिम राजमागर्मा जान समेत सहज भएको थियो ।

कावासोती खानेपानीको पाईप बाढीले बगायो

कावासोती । अविरल बर्षासंगै आएको बाढीले कावासोती खानेपानीको पाईप अधिकांश स्थानमा बगाएको छ । पाईप बगाउँदा खानेपानी वितरणमा समस्या देखिएको छ ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष भिम कण्डेलले बाढीले खानेपानी सस्थालाइ ठुलो क्षती पुर्याएको बताए ।
उनले खानेपानीको पाईप बगाउँदा कावासोती वडा नम्बर ५ र ६ मा पुर्णरुपमा र वडा नम्बर २, ३ ८ र ९ मा आंशिक रुपमा खानेपानी वितरणमा असर पर्ने बताए ।

देवचुलीको मुण्डे–किर्तिपुर सडकमा आधा दर्जन बढी ठाउँमा पहिरो

देवचुली। लगातार परेको अविरल वर्षाका कारण देवचुलीको मुन्डे–किर्तिपुर–बन्दिपुर सडक खण्ड अवरुद्ध भएको छ ।
वर्षा सँगै आएको बाढी पहिरोको कारणले बाटो ६ भन्दा धेरै स्थानमा भत्किएको देवचुली–६ का वडा अध्यक्ष मिनबहादुर सोति मगरले बताए ।
अध्यक्ष सोति मगरले वर्षा संगै आएको पहिरोले किर्तिपुर सडक भत्किए पछि गाउँ भित्रै आवतजावत गर्न पनि कठिन भएको बताए । उनका अनुसार पहिरोले बाटो भत्काए पछि बाटो सँगै रहेका बिजुलीका पोलहरु ढल्दा उक्त क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बाटो र बिजुली अवरुद्ध भएपनी कुनै प्रकारको मानवीय क्षती नभएको अध्यक्ष मगरले बताए ।

अरुणखोलाको बाढीले पल्टायो दुई ट्रक

नवलपुरको अरुणखोलामा दुईवटा ट्रक पल्टिएको अवस्थामा बेवारिसे फेला परेका छन् । लु २ ख ६७६ र लु २ ख ५ नं. का दुईवटा ट्रक खोलामा आएको बाढीले बगाएर पल्टेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार गएराती स्थानीयले खोलामा ट्रक देखेको सूचना प्राप्त भएपश्चात् प्रहरी पुगेको हो ।

मध्यविन्दु नगरपालिका वडा नं. ११ कुसुण्डेस्थित दक्षिणबाट उत्तर राजमार्गतर्फ आउँदै गरेका हाफ–ट्रेलरका दुईवटै ट्रक पुराना मोडलका भएकाले स्थानीय ढुवानी सेवामा प्रयोगमा आउने खालको प्रकृतिका देखिए पनि कस्को गाडी, कहाँ गएका वा हिडेका भन्ने स्पष्ट रुपमा नखुलेको बताईएको छ ।

खोलामा ढुंगा, गिटी, बालुवा उठाउन गएका बेला अकस्मात आएको बाढीले बगाएको हुनसक्ने वा खोला तर्ने क्रममा पल्टिएको हुनसक्ने भएकाले सोही अनुमानका आधारमा अनुसन्धान भईरहेको पनि प्रहरीको भनाई छ ।

ट्रकका चालक, सहचालक मोटर धनी कोही पनि अहिलेसम्म सम्पर्कमा नआउँदा प्रहरीले ती साधनको पहिचानको अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...