चितवनमा गर्भपतन गराउने बढे, एक वर्षमा तीन पटकसम्म गर्भपतन
चितवनमा गर्भपतन गराउनेको संख्या वार्षिकरुपमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा भन्दा २०७७/७८ मा गर्भपतन गराउनेको संख्या ७०० ले बढी छ ।
एउटै मान्छेले वर्षमा तीन पटकसम्म गर्भपतन गराएको तथ्याङ्क स्वास्थ्य कार्यालय चितवनसँग छ । आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा तीन हजार १५९ जनाले गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ४४३ जनाले र आर्थिक वर्ष २०७५/७६ मा दुई हजार २३६ जनाले गर्भपतन गराएको स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/७६ बाट आर्थिक वर्ष २०७६/७७ मा करिब २०० ले बढेको गर्भपतन गराउनेको संख्या आर्थिक वर्ष २०७६/७७ बाट आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा ७०० ले बढेको छ । कुल गर्भपतन गराउने महिलाहरुको संख्यामध्ये २० वर्ष मुनिका किशोरीहरुको संख्या ९ दशमलब ४ प्रतिशत रहेको छ ।
‘एउटै महिलाले एक वर्षमा तीन पटकसम्म गर्भपतन गराएको तथ्याङ्क हामीसँग छ’, उनले भने ‘यो डरलाग्दो अवस्था हो । आर्थिक वर्ष २०७७/७८ मा गर्भभित्र रहेको बच्चा मर्न सक्ने, अङ्गभङ्ग हुने र आमा र बच्चा दुवैको अवस्था खतरामा रहेको अवस्थामा गर्भपतन गराउनेको संख्या ३५२ रहेको छ । सरकारको सूचीकृत स्वास्थ्य संस्थाहरुबाट मात्र सुरक्षित गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेको छ ।
नेपाल सरकारले २०६० सालदेखि सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, सरकारबाट मान्यता नपाएका स्वास्थ्य संस्थामा पनि गर्भपतन हुने गरेको छ । जसले गर्दा गर्भपतन गर्नेको संख्या जिल्लामा अझै बढी हुने कार्यालयले अनुमान गरेको छ । जिल्लामा १० वटा सरकारी र १० वटा निजी संस्थाबाट सुरक्षित गर्भपतन हुने गरेको छ ।
कानुनअनुसार सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट १२ हप्तासम्मको शल्यक्रियाबाट र ९ हप्तासम्मको औषधिबाट गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ । जबरजस्ती करणी एवं हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ ।
गर्भ रहँदा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिकरुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्माउन सक्ने अवस्था भएमा चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भपतन गराउन पाइने व्यवस्था रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।