गैँडाकोट ४ फेरी डुबानमा, आक्रोशित स्थानियले नगरपालिकामा गरे तालाबन्दी
विगत ५ दिन देखि परेको अविरल वर्षाका कारण गैंडाकोट नगरपालिकाको वडा नम्बर ४ पुनः डुबानमा परेको छ । डुबानमा परेपछि आक्रोशित स्थानियले गैँडाकोट नगरपालिकामा ताला लगाएका छन् । स्थानिय जनप्रतिनीधिहरुले वषौ देखि डुबानको समस्या भैरहेपनि कुनै पहलकदमी नगरेको आरोप लगाउदै उनिहरुले तालाबन्दी गरेका हुन् । निकासको बारे कुरा राख्न नगरप्रमुख उपप्रमुख तथा जनप्रतिनीधिहरुले मोबाईल समेत स्वीच अफ गरि बसेपछि आफुहरु बाध्य भएर नगरपालिकाको गेटमा तालाबन्दी गर्नु परेको स्थानिय बाढि पिडित तिर्थ पौडेलले बताउनु भयो ।

स्थानिय सरकारले काम गर्न नसकेको भन्दै अब आफै काम गर्ने उनिहरुले बताएका छन् । उता ढल निकास वडाको बजेटले सक्ने विषय भएको भन्दै वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले नगरपालिकाका, प्रदेश सरकार र संघिय सरकारले थप पहल गर्नु पर्ने बताउनु भयो । यस्तै वडा नं ५ का वडाध्यक्ष नबराज कंडेलले वडा नं ४ को समस्या सबैको समस्या भएकोले मिलेर हल गर्नु पर्नेमा जोड दिनु भएको छ । निरन्तरको बर्षाले घरसहित शौचालय समेत डुबेपछि महिला तथा बालबालिकाहरुलाई झन बढि समस्या परेको स्थानियको गुनासो छ । यस वर्षको वर्षातमा यो वडा तीन पटक सम्म डुवानमा परि सकेको छ ।
डुवानमा मानवीय क्षति नभएपनि यहाँका अधिकांश वडा बासीहरुको घरगोठ र खेतीपातीहरुमा पानी भरिएपछि करोडौंको क्षति हुने गरेको छ । डुवानका कारण अहिले यहाँको जनजीवन अस्तव्यस्त भएको छ । डुवानमा पर्ने वडा नं. ४ को समस्या भने आजको होइन । वर्षेनी यहाँ यसरि नै पानी पर्दा यो वडाले डुबानमा पर्ने गरेको छ । वडावासीले पटकपटक स्थानीय सरकारलाई निकासका लागि माग गरिरहे पनि समस्या समाधान हुन भने सकेको छैन ।

यसपटक परेको लामो समयको अविरल वर्षाका कारण डुबानमा परेर आजित भएका वडा नम्बर ४ का झन्डै ५० घरपरिवारले पटकपटक स्थानीय सरकारलाई गुहार्दा पनि निकास नभेटिएपछि अन्ततः उनीहरुले नगरपालिकाको मूलगेटमा आज बिहान ताला लगाएका हुन् । अहिले पानि निकासका लागि ४,५ ओटा डोजरले पुर्वपश्चिम राजमार्गमा कुलो खनेर पानि निकास गर्ने काम भैरहेको छ।
#photo by pradeep Acharya