विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउ
नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो ।
चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो ।
आइतबार राति करिब साढे १ बजे विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको थियो । चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।

राति करिब १ बजे चोरी भएको ट्यांकर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार/पाँच जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । अन्यको खोजी जारी छ ।
यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि जागिर छाडेका थिए ।